• शनिबार, साउन ९ २०८३

चेपाङ समुदायको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली गोरखामा


मंगलबार, फाल्गुन ६ २०८१
2K
Shares

गोरखा । चेपाङ समुदायको अवस्था बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली गोरखा आइपुगेको छ । गण्डकी गाउँपालिकामा दोस्रो ठूलो जनसंख्या रहेको चेपाङ समुदायको मानवअधिकारको अवस्था, शिक्षा, स्वास्थ्य, बासस्थान तथा सार्वजनिक सेवामा पहुँच लगायतको अवस्था बुझ्न आयोगको टोली गोरखा आएको हो ।

सोही क्रममा सोमबार गण्डकी गाउँपालिकामा उनिहरुको अवस्थाका बारे बिभिन्न सरोकारवालाहरुवीच छलफल भएको छ । आयोगका उपसचिव लोकनाथ बास्तोलासहित मानवअधिकार अधिकृत किरण बराम, मानवअधिकारकर्मी भोला भट्टराईको टोलीले सोमबार गण्डकीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी त्याहाका चेपाङ समुदायको मानवअधिकारको अवस्था, जिविकोपार्जन, शैक्षिक अवस्था, स्वास्थ्य लगायत सार्वजनिक सेवामा पहुँच, आसपासका क्षेत्रमा वातावरणिय प्रभाव, उनिहरुको आयआर्जन, राज्यबाट पाउनुपर्ने अधिकार लगायतका बारे जानकारी लिएको छ ।

पहिलो चरणमा भएको छलफलमा नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष समेत रहेका भिमलाल चेपाङ सहित चेपाङ समुदायका अगुवा, बुद्धिजिवी, स्थानीय समुदायको सहभागिता रहेको थियो ।

त्यसलगत्तै गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, उपाध्यक्ष ललिता अधिकारीसहित जनप्रतिनिधीसंग आयोगको टोलीले छलफल गरेको थियो ।

जसमा चेपाङ समुदायको जमिनमाथीको अधिकार, बालविवाहका कारण चेपाङ समुदायभित्र उत्पन्न चुनौती, अझैपनि शिक्षामा पहुँच नपुगेको, पोषण कार्यक्रम प्रभावकारी बन्न नसकेको साथै उनिहरुको सामाजिक, साँस्कृतिक, आर्थिक लगायतका बिषयका बारे छलफल भएको मानवअधिकार अधिकृत बरामले जानकारी दिए ।

आगामी बर्ष आयोगले चेपाङ समुदायको मानवअधिकारको अवस्थाका बारे प्रतिवेदन प्रकाशित गर्ने तयारी गरेकाले उनिहरुको बासस्थानमै पुगेर वस्तुस्थिती बारे अध्ययन सुरु गरिएको बरामको भनाई छ ।

यसै सन्दर्भमा मंगलबार आयोगको टालीले जिल्लामा कृयाशिल सञ्चारकर्मीसंग समेत चेपाङको अवस्थाका बारे छलफल गरेको थियो । यसअघि आयोगको टोली मनवानपुर र चितवनका चेपाङ समुदायका बस्तीहरुमा समेत पुगेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार