गोरखा । पर्यटन बर्षको प्रचार प्रसारका लागि गोरखा नगरपालिकाले सार्वजनिक यातायातका साधनहरुमा स्टिकर टाँस्ने अभियानको थालनी गरेको छ । । अंग्रेजी बर्ष २०२५ लाई पर्यटन बर्ष घोषणा गरेको गोरखा नगरपालिकाले जिल्ला भित्र र बाहिर सञ्चालन हुने सम्पूर्ण सार्वजनिक यातायातका साधानमा ‘भिजिट गोरखा ’ को लोगोसहितको स्टिकर टाँस्ने अभियान थालेको हो ।
सवारी साधनबाट देशैभर भ्रमण बर्षको प्रचार गर्ने र भ्रमणका लागि पर्यटकलाई निम्तो दिने उदेश्यले स्टिकर टाँसिएको मेयर कृष्णबहादुर राना मगरले बताए ।
आज गोरखा स्थित बसपार्कमा एक कार्यक्रमको आयोजना गरी सवारी साधनमा स्टिकर टाँस्ने अभियानको प्ररम्भ गरिएको हो । कार्यक्रममा मेयर राना, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, उपमेयर मसलीमाया थोकर लगायतले पृथ्वी राजमार्ग यातायात प्रालि, दरौदी यातायात प्राली, ट्याक्सी सञ्चालन गर्ने गोरखा मनकामना यातायात सेवा प्रालि लगायतका समितिलाई स्टिकर लगायतका प्रचार सामाग्री हस्तान्तरण गरेका हुन् ।
साथै पर्यटन बर्षको निम्तोसहित नगर क्षेत्रका धार्मिक तथा पर्यटकिय स्थलहरुको परिचयसहितको ब्रोसर, बुकलेट, पुस्तकहरु समेत ब्यवसायीलाई हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत विजयभक्त उपाध्यायले जानकारी दिए ।
हस्तान्तरण गरिएको ब्रोसर, बुकलेट सार्वजनिक यातायातका साधनमा राखिने र यात्रुहरुलाई समेत वितरण गरिनेछ । यसले गोरखा भ्रमण बर्षको प्रचारप्रसारमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।