गोरखा । गोरखामा ३ हजार ५ सय जना बढीको मुटु परिक्षण गरिएको छ ।
रोटरी क्लब गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखामा भएको दुई दिने निशुल्क मुटु परीक्षण शिविरबाट ३ हजार ५ सय १० जनाले मुटुको जाँच गराएका हुन् ।
शिविरमा ४१३ जनाको इसिजि र ४७९ जनाको इको परीक्षण गरिएको रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोद कुमार बस्न्यातले बताए । यसैगरी लामो समय देखि मुटुको रोग निवारणका लागि औषधी खाइरहेका, नियमित फलोअप गर्नुपर्ने, रिर्पोट देखाउनुपर्ने लगायतका अन्य बिरामीहरुले पनि शिविरबाट लाभ उठाएको आयोजकले दाबी गरेको छ । परिक्षणका क्रममा २८ जनाको मुटुको भल्वमा समस्या देखिएका थप उपचारका लागि काठमाडौं जान सिफारिस गरिएको छ ।
सेभ द हार्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाण्डौं तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टूान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटु रोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको चिकित्सक टोलीबाट दुई दिनसम्म निशुल्क मुटुको चेकजाँच तथा परामर्श गरिएको कार्यक्रम संयोजक किशोरजंग थापाले बताए । त्यस्तै गोरखा सदरमुकाम आसपासका ९ विधालयमा समेत घुम्ति शिविर गरेर विद्यार्थीको मुटुको स्किृनिङ गरिएको उनले बताए ।
शिविरमा मुटुको परिक्षण, इसिजी, इको, आवश्यकता अनुसार अन्य जाँच, निशुल्क औषधी वितरणका साथै परामर्श प्रदान गरिएको क्लबले जनाएको छ ।
शिविरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टूान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञहरु, चिकित्सक, नर्स लगायत गरी ३२ जना साथै गोरखा अस्पतालका समेत टोलीबाट शिविरमा चेकजाँच गरिएको थियो। रोटरी क्लव २०७० सालयता हरेक बर्ष जिल्लामा मुटु शिविर आयोजना गर्दै आइरहेको छ । यस बर्षको शिविरमा सम्भव नेपालको समेत सहकार्य रहेको संयोजक थापाले बताए ।