• शनिबार, साउन ९ २०८३

महिला हिंसा न्यूनिकरण गर्न वारपाक र आरुघाटका ४६ किशोरीलाई आत्मरक्षा तालिम


सोमबार, माघ २१ २०८१
3K
Shares

गोरखा । महिला हिंसा तथा दुव्र्यवहार न्यूनीकरण गर्ने उद्देश्यले गोरखाका ४६ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ। सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा जिल्लाका दुई गाउँपालिकाका विद्यालय तहमा अध्ययनरत ४६ जना किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो ।

वारपाक सुलिकोट र आरुघाट गाउँपालिकाका बिभिन्न ११ विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राहरुलाई सहभागी गराईएको तालिम बिहिबारदेखि शनिबारसम्म चलेको थियो ।

वारपाकको हिमालय माविमा सञ्चालन गरिएको तालिमको सहजीकरण सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दशरथ शर्मा, मस्र्याङदी कराँते डोजो लमजुङका प्रमुख प्रशिक्षक प्रेम बहादुर गुरुङ लगायतले गरेका थिए ।

महिलामाथि हुने बलात्कार, जबर्जस्ती करणी, कुटपिट, दुव्र्यवहार जस्ता घटना मौलाउँदै गएकाले त्यसको सहि रोकथाम र न्यनिकरणका लागि किशोरीलाई नै सक्षम र सचेत बनाउने उदेश्यले तालिम आयोजना गरिएको सामाजिक विकास कार्यालयका सुचना अधिकारी तुलसिं गुरुङले जानकारी दिए ।

‘केहि समयअघि वारपाकमै एक किशोरीको वलात्कार प्रयास भई हत्या भयो, विशेष गरेर विद्यालय तथा कलेज लेभलका किशोरीहरु यस्ता घटनाबाट पिडित भइरहेको तथ्यांकले देखाएको छ’ सुचना अधिकारी गुरुङले भने ‘त्यस्ता घटना हुन नदिने वातावरण बनाउन किशोरीलाई नै सजग, सचेत र सक्षम बनाउन जरुरी देखिएकाले यो तालिम गरिएको हो’

बालिका, किशोरीदेखि महिलामाथि हुने दुव्र्यवहार अन्त्य गर्न आफूले सिकेर मात्र होइन, सिकेका कुरालाई अन्य साथीलाई सिकाउन पनि तालिममा सहभागी किशोरीलाई प्रेरित गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

शर्माका अनुसार तालिममा दुव्र्यवहारको जोखिमको स्थान, दुव्र्यवहार गर्न सक्ने मानिसको पहिचान, दुव्र्यवहारका किसिम, किशोरीको सुरक्षा र आत्मरक्षाका सीपहरु सिकाईको छ ।

‘हिंसाबाट बच्न, हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथि हिंशा वा दुव्र्यवहार भइहाले वा आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा किशोरीलाई शारीरिक, प्रयोगात्मक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको छ’ कार्यालय प्रमुख शर्माले भने ।

त्यस्तै तालिममा महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा समेत बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श समेत प्रदान गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार