पोखरा । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लामा तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।
खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको बताइएको छ ।
नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।