• शुक्रबार, साउन ८ २०८३

मौलाकालिका अस्पताल आफ्नै भवनमा सर्दै, बिरामीलाई सहुलियतमा सेवा दिने तयारी


आइतबार, माघ १३ २०८१
4.2K
Shares

काठमाडौं । लामो समयदेखि भरतपुरको चौबीसकोठीमा सञ्चालित मौलाकालिका अस्पताल आफ्नै सुविधासम्पन्न नयाँ भवनमा सर्ने भएको छ । आगामी माघ २१ गतेबाट भरतपुरकै वाईपास रोडस्थित मालपोत चोक नजिक आफ्नै नयाँ भवनमा सर्ने भएको हो ।

आफ्नै सुविधासम्पन्न नयाँ भवनबाट सेवा शुभारम्भ गर्न लागेको अवसरमा अस्पतालले बिरामीलाई बिभिन्न उपचार तथा सेवामा सहुलियत तथा छुट दिने घोषणा गरुेको छ । जसमा अस्पतालले ओपिडि सेवा निःशुल्क गरेको छ भने अस्पताल सेवामा ५० प्रतिशत छुट दिने जनाएको छ ।

माघ २१ गतेदेखि ३० गतेसम्म सम्पूर्ण ओपिडि (बहिरंग) सेवाको टिकट निःशुल्क गर्न लागिएको अस्पतालले जनाएको छ । यसै अवधिमा अस्पतालका सम्पूर्ण सेवामा ५० प्रतिशत र अस्पतालको फार्मेसीबाट बिक्रि हुने औषधिमा समेत सात प्रतिशत छुट दिने तयारी रहेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए ।

२०६३ सालमा अस्पतालरोडमा स्थापना भएको मौलाकालिका अस्पताल ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक जाने राजमार्ग नजिक सञ्चालनमा रहेको थियो । अस्पतालले भरतपुर ११, वाईपास रोडमा १० कठ्ठा जमिन खरिद गरी सरकारले तोकेअनुसारको मापदण्डमा सात तले सुविधासम्पन्न आधुनिक भवन निर्माण गरेको छ ।

हाल ५० शैया स्वीकृत लिएर सञ्चालनमा रहेको अस्पतालले निकट भविष्यमै एक सय शैयामा विस्तार गर्ने योजनासहित भवन निर्माण गरिएको अध्यक्ष मानन्धरले बताए । हाल अस्पतालले जलन (बर्नवार्ड), प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर), युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको छ ।

यसैगरी इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ), स्त्री–प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको छ । यस्तै फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि अस्पतालले दिंदै आएको छ ।

अस्पतालमा २४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा सहित सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था रहेको उनले बताए । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय (पत्थरी र पित्तथैली) को चिरफार विना शल्यक्रिया हुने गरेको उसमेत अध्यक्ष मानन्धरले जानकारी दिए ।

अस्पतालमा आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् भने प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल), ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार