काठमाडौं । फेन्सी व्यवसायी संघ चितवनको आगामी दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। चितवनका फेन्सी व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित संघले व्यवसायीहरुको हकहितलाई प्राथमिकतामा राख्दै कार्ययोजना निर्माण गर्न दुईदिनसम्म गोष्ठी आयोजना गरेको हो ।
संघका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा आयोजना भएको गोष्ठीमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो ।
आइतबार र सोमबार चितवनको शुक्रनगरमा सम्पन्न उक्त गोष्ठीको सहजिकरण नलेज एकेडेमीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले गरेका थिए। उनले व्यवसायीहरुको क्षमता विकास, समन्वय र प्रतिस्पर्धात्मक व्यवसायिक वातावरण निर्माणका लागि गोष्ठी फलदायी भएको बताए ।
कार्यक्रममा सहभागीहरुले चितवनका फेन्सी व्यवसायीहरुको व्यवसायिक सुरक्षासँगै आर्थिक स्थायित्व र प्रवर्द्धनका लागि रणनीतिक योजना तयार गर्न आफ्नो धारणा राखेका थिए।
गोष्ठीले आगामी दुई वर्षभित्र व्यवसायीहरुको हितका लागि नीति निर्माण, तालिम कार्यक्रम, सहकारी विस्तार, तथा व्यवसाय प्रवर्द्धनमा केन्द्रित कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ।
कार्यक्रममा फेन्सी व्यवसायीहरुको समस्या र चुनौतीका बारेमा व्यापक छलफल गरिएको थियो। अध्यक्ष पौडेलले सबै व्यवसायीलाई एकजुट भएर संघको गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
उक्त गोष्ठीबाट व्यवसायीहरुको हकहितका लागि प्रभावकारी पहलकदमी लिने, ब्यवसायीका पक्षमा पैरवी गर्ने, संघका कृयाकलापलाई चलायमान र ब्यवस्थित बनाउने गरी दुई बर्षे कार्ययोजना समेत निर्माण गरेको संघका सदस्य नविन मियाँले जानकारी दिए ।