• शुक्रबार, साउन ८ २०८३

विपद् जोखिम न्यूनीकरणका लागि सामुदायिक जागरूकता अभियानमा ललितपुरका विद्यार्थी


आइतबार, पुष २८ २०८१
1.6K
Shares

ललितपुर । ललितपुरका विद्यार्थीले विपद् जोखिम न्यूनिकरणका लागि समुदायमा जागरुकता अभिवृद्धि अभियान थालेका छन् । विभिन्न विपद्हरूसँग सम्बन्धित जोखिमहरूको बारेमा स्थानीय बासिन्दाहरुलाई जागरूक बनाउने उदेश्यले यो अभियान थालिएको बताइएको छ ।

अभियान अन्तरगत शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर १९ मा अवस्थित भस्सारा बिद्यालयका विद्यार्थीहरूद्वारा बिद्यालय सामूदाय केन्द्रित विपद् जोखिम न्यूनीकरणमा जागरूकता कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा दुई सय भन्दा बढी स्थानीय बासिन्दाहरूले विपद् तयारी सम्बन्धी एक दर्जन भन्दा बढी गतिविधिहरूमा भाग लिएका थिए। यो पहल बिद्यालयलाई मजबुत बनाई समुदायलाई विपद् उत्थानशीलता बनाउने रणनीतिको एक हिस्सा रहेको उनिहरुको भनाई छ।

जाइकाको आर्थिक सहयोगमा जापानमा अवस्थित प्लस आर्ट्स एनपीओ कोबेद्वारा समर्थित र नेपालमा इन्सेकद्वारा कार्यान्वयन गरिएको कार्यक्रम मार्फत आफ्ना शिक्षकहरूबाट तालिम प्राप्त गरेपछि, विद्यार्थीहरूले आफ्नो विद्यालयमा डीआरआर क्लब स्थापना गरेका थिए। यो क्लबले बिद्यार्थी तथा युवाहरूमा विपद् तयारीको संस्कृतिलाई बढावा दिने लक्ष्य राखेको छ, जसले विद्यार्थीहरूलाई उनीहरूले हासिल गरेको ज्ञान आफ्ना साथीहरू र स्थानीय समुदायसँग बाँड्न सक्षम बनाउँछ।

नेपालको भूकम्प र अन्य प्रकोपहरूको जोखिमलाई ध्यानमा राख्दै, यस्ता कार्यक्रमहरू समुदायहरूलाई आपतकालीन अवस्थाहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुसज्जित गर्न महत्त्वपूर्ण छन्। कार्यक्रमको क्रममा, डीआरआर क्लबका सदस्यहरूले अन्तरक्रियात्मक स्टलहरू राखेका थिए जहाँ समुदायका सदस्यहरूले खेल र प्रदर्शनहरू मार्फत बिभिन्न विपद् सम्बन्धी जानकारी हासिल गरेका थिए। यी स्टलहरूले भूकम्प तयारी, अग्नि सुरक्षा, पहिरो जागरूकता, बाढी प्रतिक्रिया, डेंगु रोग रोकथाम, र आपतकालीन झोला प्याक गर्ने जस्ता विषयहरू सहित आवश्यक विषयहरू समेटिएका थिए।

कार्यक्रमलाई स्थानीय समुदाय तथा सहभागीहरुबाट उत्साहजनक समर्थन प्राप्त भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले विपद् जोखिम न्यूनीकरण पहलहरूलाई अगाडि बढाउन विद्यार्थीहरू र समुदायको सक्रिय प्रयासहरूको प्रशंसा गरिन्। उनले प्रकोपको जोखिममा रहेका क्षेत्रहरूका बासिन्दाहरुले दैनिक जीवनमा विपद् पुर्व तयारी ज्ञान तथा क्षमतालाई एकीकृत गर्न जोड समेत दिएकी छिन् ।

इन्सेकका कार्यकारी निर्देशक श्री विजय राज गौतमले युवा पुस्तालाई शिक्षित गर्नुको महत्त्वलाई प्रकाश पार्दै यस किसिमका कार्यक्रम मार्फत उत्थानशिल समाज निर्माण गर्न सकिने बताए। साथै यो कार्यक्रम अन्य क्षेत्रको लागि पनि नमुना बन्ने उनको भनाई छ।

सहभागी विद्यार्थीहरूका अभिभावकहरूले पनि स्टलहरूमा संलग्न भएर, प्रदर्शन र गतिविधिहरूमा भाग लिएका थिए । कतिपय स्टलमा बिद्यार्थीहरु आफ्नो अभिभावक संगै प्रदशनीमा सामेल भएका थिए र अन्य स्थानीयहरुलाई ज्ञान साझा गरेका थिए। यसरी सामूदायका मानिसहरुलाई विपद् जोखिम न्यूनीकरणको अभ्यासमा प्रोत्साहित गर्न उनीहरूको संलग्नता महत्त्वपूर्ण थियो।

कार्यक्रममा बोल्दै, भस्सारा स्कूलकी प्रिन्सिपल आभा अवालेले आफुहरुले नियमित रूपमा आफ्नो समुदायमा विपद् जोखिम न्यूनीकरण जागरूकता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले आफ्नो बिद्यालय सन् २०१७ देखि बिद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजनामा सामेल भएको र विपद् जोखिम न्यूनीकरणको लागि जापानी दृष्टिकोणहरू, ज्ञान तथा सिपहरुलाई स्थानीयकरण गर्दै बिद्यालय र सामूदायलाई विपद् उत्थानशिल बनाउन अगाडी बढेको बताइन्।

कार्यक्रममा ललितपुरकी उपमेयर शाक्यसहित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक श्री विजय राज गौतम, वडा १९ का अध्यक्ष राजेन्द्र महर्जन, वडा ११ का अध्यक्ष श्री अरोज खड्की, ललितपुर महानगरपालिकाका ट्राफिक प्रमुख सीताराम हातेछु, जाइका नेपालका प्रतिनिधि, विभिन्न वडा सदस्यहरू र अन्य सरोकारवालाहरू लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार