काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो।
योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ। लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।
लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो। शनिबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।
जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। ४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे।
जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए। उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
मोहम्मद मोहसिन ९ रन बनाउँदा इसान पाण्डेको बलमा बोल्ड आउट भए। जेम्स निसम ४ रन बनाउँदा दिपृेन्द्रसिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। आकाश भिपाठी २ रनमा रनआउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमाक ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।