काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका पाँच लाख ४६ हजार ७६४ योगदानकर्तामध्ये ८४ हजार ९०२ जना योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।
कोषका अनुसार स्वास्थ्य सेवा लिएबापत एक अर्ब ९२ करोड ६१ लाख रुपियाँ दाबी गरेकोमा एक अर्ब ५० करोड ३८ लाख रुपियाँ भुक्तानी भएको छ । कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको उपचारबापतको खर्च बेहोर्ने व्यवस्था छ ।
कोषले गत फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधोपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागु गरेको हो ।
यसअघि भने सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।