• शनिबार, साउन ९ २०८३

गण्डकीका बिभिन्न स्थानमा पहिरो, ९ जनाको मृत्यु, १० वेपत्ता


शुक्रबार, असार २६ २०७७
1K
Shares

गोरखा । केहि दिनयताको अविरल बर्षातका कारण गण्डकी प्रदेशका बिभिन्न जिल्लामा पहिरो गएको छ । कास्की, लमजुङ, म्याग्दी लगायतका जिल्लामा गएको पहिरोले अहिलेसम्म ९ जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन ।

पहिरोमा परी कास्कीमा मात्रै मृतकको संख्या ६ पुगेको छ भने कम्तीमा १ जना बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनराम श्रेष्ठले बताए ।

राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरामा पर्दा सो घरमा सुतेका मध्ये ५ जनाको मृत्यु भएको छ ।

उनीहरुको शव संकलन भइसकेको एसपी श्रेष्ठले बताए । घटनामा परी घाइते भएका अन्य ८ जना घाइते छन् ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पोखरा महानगर पालिकाको वडा नम्बर २६ मा पनि एउटा घर पहिरोले पुरेको खबर प्राप्त भएको छ । उक्त घरमा एक जना पुरिएको भन्ने खबर आएको जानकारी दिँदै एसपी श्रेष्ठले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र पहिरो जाने क्रम जारी रहेकाले खोजी कार्य प्रभावित भएको बताएका छन् ।

त्यस्तै पोखरा–१७ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।
लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा बिहीबार राती पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

स्थानीय दीपक तामाङको घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको लमजुङका डिएसी गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार घरमुली दीपक तामाङ, पत्नी बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको हो । परिवारका ३ जना सामान्य घाइते भएका छन् । घाइते ३ जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार ९ जना बेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा ३ जना थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार