काठमाडौं । काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा।डा। मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा डा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन् ।
कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा डा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा डा मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताए ।
कलेजकी प्रबन्ध निर्देशक डा साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताइन।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसक्नु भएका डा मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।
कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा डा मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । उनको कार्यकाल ३ बर्षको हुनेछ ।