• शनिबार, साउन ९ २०८३

शहरी रुपान्तरणमा युवा सहभागितालाई जोड


मंगलबार, असोज २२ २०८१
1.6K
Shares

काठमाडौं । ‘कर्मशील युवा: समुन्नत शहर’ नाराका साथ विश्व बसोबास दिवस—२०८१ मनाइएको छ । दिवसलाई प्रभावकारी बनाउन शहरी विकासको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाहरुसहितको मुल तयारी समिति बनाइएको थियो ।

शहरी विकास मन्त्रालयसँग समन्वयमा शहरी विकास तथा भवन निर्माण विभाग, युएन-ह्याबिट्याट, नेपाल राष्ट्रिय शहरी मञ्चसँगै यस क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले दिवसको अवसरमा कार्याशाला गोष्ठी र राष्ट्रिय शहरी मञ्चको आयोजना गरेका छन् ।

कार्यक्रमको औपचारिक उद्घाटन चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक स्थानीय समीक्षा (VLR) प्रतिवेदनको विमोचनसँगै गरिएको थियो । यो प्रतिवेदनले स्थानीय तहमा दिगो विकास लक्ष्यहरूको प्रगति, संस्थागत स्रोत र कार्यान्वयनको अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिँदै उक्त लक्ष्यहरू प्राप्त गर्न स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक क्रियाकलापको महत्त्वलाई उजागर गरेको छ ।

कार्यक्रमका सहभागीहरुले नेपालमा दिगो शहरीकरणका लागि युवाहरूलाई शहरी विकासका काममा समावेश गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवाहरू नै शहरको भविष्य भएकाले उनीहरूलाई शहरी योजनामा सक्रिय हिसाबले संलग्न गराउनु पर्नेमा जोड दिनुभयो।

शहरी विकासमा युवाको सङ्लग्नता बढाउन सरकारले पहल थाल्ने उहाँको प्रतिबद्धता छ । जनसङ्ख्याको गतिशील र शक्तिशाली हिस्सा युवालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र शहरी विकासमा पनि समाहित गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा-२०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादक मूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा शहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले त्यसमा सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंहले वातावरणमैत्री शहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले पछिल्लो समय युवापुस्ता विदेशिने क्रम बढेसँगै शहरी विकासमा युवाको सङ्लग्नता बढाउने योजना कार्यान्वयनमा चुनौती देखिएको दृष्टान्त दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दिगो शहरी विकासका लागि युवा सङ्लग्नता बढाउनुपर्ने र यसका लागि शिक्षा, स्वास्थ्य रोजगारीलगायतका सुविधा तथा अवसर सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो ।

विद्वत प्रवचन दिँदै मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले मधेस प्रदेशको शहरीकरणमा देखिएका समस्या, चुनौती र सम्भावनाको चर्चा गर्नुभयो ।

युवा-सञ्चालित प्रयासहरूले वातावरण संरक्षण र पिछडिएका समुदायहरूको जीवन परिवर्तनमा देखाएको सकारात्मक प्रभावलाई महत्त्वपूर्ण उदाहरणको रूपमा प्रस्तुत गर्दै, उहाँले युवाहरूको क्षमतामा आधारित संस्थागत सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस्तै, नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हान्ना सिंगर हाम्दीले शहरी विकासमा युवा वर्गको सङ्लग्नतामा जोड दिनुभयो ।

नेपालका युवाहरुमा नवप्रवर्तन र शहरी विकासमा योगदान गर्ने क्षमता रहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले चन्द्रागिरि नगरपालिकाले जस्तै स्वैच्छिक स्थानीय समीक्षा प्रतिवेदन बनाएर सोही अनुसार दिगो विकासका लक्ष्य पुरा गर्ने कामको अनुसरण गर्न सबै स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरिले शहरी विकासमा युवा सङ्लग्नता बढाउनका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । युवाहरूको शहरी विकासमा भूमिका विषयक प्राविधिक सत्रमा शहरी क्षेत्रको विकासमा क्रियाशील युवाहरुले विभिन्न आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए ।

शहरी विकासका क्षेत्रमा नवप्रवर्तनात्मक समाधानका काम गरिरहेका युवाहरुले कार्यक्रममा आफ्ना भोगाईहरु सुनाएका हुन् । दिवसको अवसरमा आयोजना भएको कार्यक्रमको दोश्रो सत्र नेपाल राष्ट्रिय शहरी मञ्चमा परिवर्तन भयो ।

जहाँ स्थानीय वित्तीयकरणका प्रयासमा केन्द्रित ११ वटा परियोजनाबारे विभिन्न संस्थाका प्रतिनिधिले आफ्नो प्रस्तुति राखेका थिए । अन्त्यमा, युएन-ह्याबिट्याट नेपालका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले कार्यक्रमका प्रमुख सन्देशहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमले नेपालका शहरहरूको भविष्य युवाहरूको नेतृत्व र संलग्नतामा रहेको बताउँदै युवाहरूलाई शहरी रूपान्तरणको लागि उपकरण र सहयोग आवश्यक रहेकोमा जोड दिएको उहाँको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार