गोरखा । अब गोरखा–आँबुखैरेनी सडक क्षेत्र सिसि क्यामेराको निगरानीमा रहने भएको छ । सो सडक खण्डका मुख्य मुख्य बजार क्षेत्रमा दोस्रो चरणको सिसी क्यामेरा जडानको काम सम्पन्न भएको हो ।
दोस्रो चरणमा सदरमुकाम र आसपासका क्षेत्र गरी ३१ वटा क्यामेरा जडान गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्र गोरखाले क्यामेरा जडान सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका क्षेत्र अन्तरर्गतको वडा नम्बर १३ को मझुवा देउरालीदेखि अबुवा, १२ किलो बजार तथा वडा नम्बर ५, ६, ७ र ८ को बजार क्षेत्रमा ३१ वटा क्यामेरा जडान गरिएको सामुदायिक सेवा केन्द्र गोरखाले जानकारी दिएको छ ।
सिसि क्यामेरा जडानको काम सम्पन्न भए लगत्तै बुधबार केन्द्रले गोरखा नगरपालिकाकालाई हस्तान्तरण गरेको बताइएको छ । त्यस्तैै आवस्यक समन्वय र निगरानीका लागि नगरपालिकाले जिल्ला प्रहरी कार्यालय गोरखालाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।
केन्द्र अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलाश) ले नगर प्रमुख राजनराज पन्तलाई र नगर प्रमुख पन्तले जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन ।
सामुदायिक सेवा केन्द्रले पहिलो चरणमा गोरखा नगरपालिकाको आर्थिक सहगोगमा नगर क्षेत्र भित्रको वडा नम्बर ६, ७ र ८ मा ३७ वटा सडक क्यामेरा जडान गरेको थियो भने यो आर्थिक बर्षमा वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १३ मा ३१ वटा क्यामेरा थप गरेको हो । यस कार्यक्रममा प्राविधिक सहयोग भने सन टेक्नोलोजी बनस्थलीले गरेकाे बताइएकाे छ ।
थप गरिएको क्यामेराले अबुवा बजार, १२ किलो बजार, खोलखोले, चाईनिजधारा, पेट्रोल पम्प, हरमटारी, कालीमाटी, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, विपीचोक, धारापानी, राहटेपानी, तल्लो मैदान हुदै चिल्ड्रेन पार्कको सुरक्षा ब्यवस्था हेर्न सकिन्छ ।
साथै पदेली, ठुलो आँगन, तिनधारे, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशाल बसपार्क र लोकतान्त्रिक चोक सम्मको सुरक्षा ब्यवस्था हेर्न मिल्ने गरी क्यामेरा बिस्तार गरिएको छ ।
क्यामेरा जडानका लागि गत बर्ष नगरपालिकाले १८ लाख र यस आर्थिक बर्षमा १० लाख रुपैयाँ उपलब्ध गराएको गोरखा नगरपालिकाले जनाएको छ ।
