गोरखा । जिल्लाको अधिकांश पालिका स्तरीय अस्पताल अलपत्र छन् । केही वर्ष अघि सरकारले हरेक स्थानीय तहमा कम्तिमा एउटा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार २०७७ साल मंसिर १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट एक साथ देशभर अस्पताल शिलन्यास गरेका थिए । तर, बिना तयारी शिलन्यास गरिएका ती अस्पताल मध्ये गोरखाको अधिकाशं अस्पताल बनेका छैनन् ।
‘हाम्रो पालिका स्तरीय अस्पतालको लागि बजेट सुनिश्चितता नभएर निर्माणको प्रक्रिया अघि बढेको छैन्,’गण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कुमार सुनारले भने,‘अस्पतालको लागि बजेटको सुनिश्चितता भए लगतै काम सुरु गछौं ।’
चुमनुब्री गाउँपालिकामा पनि पालिका स्तरीय अस्पताल निर्माणको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछोनेले जानकारी दिए ।
बारपाक सुलिकोट गाउँ पालिकाको वडा नं. ४ सौरपानीमा पालिका स्तरीय अस्पताल निमार्ण सम्पन्न हुने क्रममा रहेको इन्जिनियर मेघनाथ प्रसाद यादवले जानकारी दिए । ‘पालिका स्तरीय अस्पताल भवनमा वाइरिङ, फिनिसिडका कामहरु बाँकी छन,’ उनले भने, ‘स्टकचरका कामहरु करिब–करिब सम्पन्न भइसकेको छ ।’
सिरानचोक गाउँपालिकाले वडा नं. ८ को जौवारीमा पालिका स्तरीय अस्पताल निर्माण गरेको छ । ‘१५ शैयाको अस्पताल निर्माण सुरु भएको एक वर्षमै सम्पन्न भएको हो,’स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले भने, ‘हस्तान्तरण हुन बाँकी छ, सायद छिट्टै अस्पतालले सेवा प्रबाह सुरु गर्छ ।’
शहिद लखन गाउँपालिकाले वडा नं। ५ को तिनमानेमा २०७९ भदौ १९ गतेबाट अस्पताल निर्माण कार्य सुरु गरेको इन्जिनियर राजन रानाभाटले जानकारी दिए । ‘१२ करोड ४८ लाख ६१ हजार ३ सय ८ रुपैयाँमा लागत निर्माण सुरु भएको थियो,’ उनले भने,‘बजेटको अभाव काम सम्पन्न हुन सकेको छैन् ।’
आरुघाटमा रहेको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय अस्पतालको रुपमा रुपान्तरण गरेर आरुघाट आधारभुत अस्पताल बनाइएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।
‘संघिय सामान्य मन्त्रालयलाई १५ शैयाको अस्पतालको लागि परिपत्र गरेका थियौ,’ उनले भने, ‘सुरुमा एक पटक बजेट परेको थियो र हामीले गत जेठ १२ गते आरुचनौटेलाई नै अस्पतालको रुपमा परिणत गरेर सेवा दिदै आइरहेका छौं ।’
मसेन थापा गाउँपालिकाले वडा नं. ६ स्थित अश्राङ स्वास्थ्य चौकीलाई नै शहिद स्मृति आधारभुत अस्पतालको रुपमा सेवा दिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । २०७९ पुस ११ गते देखि १० शैयाको अस्पतालमा निर्माण गरेर सेवा दिदै आएको उनले बताए ।
धार्चेमा गाउँपालिकाको ४० र छायाँ नेपालको ६० प्रतिशत लगानीमा वडा नं. ३ खोर्लाबेसीमा अस्पताल निर्माण भइरहेका स्वास्थ्य संयोजक अमृत बहादुर घलेले जानकारी दिए ।
अजिरकोट गाउँपालिकामा वडा नं. ३ भच्चेकमा रहेको भच्चेक स्वास्थ्य चौकीलाई आधारभुत अस्पतालमा परिणत गरी सेवा दिदै आइरहेको स्वास्थ्उ शाखा प्रमुख शुरेस दवाडीले बताए । गोरखा नगरपालिकाले गोरखा अस्पतालाई नै पालिका स्तरीय अस्पतालको रुपमा कार्य गरी नगरवासीको स्वास्थ्य उपचारको लागि आवश्यक बजेट छुट्याएको छ ।
गोरखा नगरबासी उक्त अस्पतालमा उपचार गराउँदा आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था मिलार्ईएको गोरखा नगरपालिकाले जनाएको छ । यसैगरी पालुङ्टार नगरपालिकाले पनि वडा नं. २ मा रहेका आँपपिपल अस्पताललाई पालिका स्तरीय अस्पतालको रुपमा कायम गरेकाले त्यहा पनि अर्को अस्पताल बनाइएको छैन। पूर्व तयारी बिनै अस्पताल बनाउँदा अहिले धेरै समस्या देखिएका छन ।