काठमाडौं । निर्माण प्रकृया अघि बढेरपनि हालसम्म सिलन्याससम्म हुन नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा भइरहेको ढिलाईप्रति सर्वपक्षिय चासो र चिन्ता देखिएको छ ।
गोरखा चिन्तन समाजले काठमाडौंमा आयोजना गरेको बूढीगण्डकी जलविद्युत आयोजनाको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरेका हुन् । १२ सय मेगावट क्षमताको आयोजनामा हालसम्म अध्ययन, गोरखा र धादिङका प्रभावितलाई मुआब्जा वितरण लगायतमा गरी करिब ४५ अर्ब रुपैया रकम खर्च भइसकेको छ ।
समाजका अध्यक्ष गेहेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी भएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकीे आयोजनाले गति नलिदा जनतामा निराशा छाएको बताए ।
‘७ बर्षमा सक्ने भनेर मै प्रधानमन्त्री भएको बेला अध्ययनको काम थालिएको हो, तर आज १५ बर्ष बित्दापनि निर्माणको कामै सुरु नहुनु विडम्बनाको बिषय हो’ डा भट्टराईले भने ‘जनतामा निराशा धेरै नै छाएको छ, यसलाई राज्यले बुझ्नु पर्छ, नागरिकलाई विचल्ली बनाउनु हुँदैन ।’
आफू पटक पटक त्यस क्षेत्रको साँसद निर्वाचित हुँदा जनतालाई धेरै सपना बाँडेको स्मरण गर्दै भट्टराईले अबपनि बिभिन्न बाहानामा आयोजनाको काम रोक्नु जनतामाथीको घात हुने बताए ।
‘अबपनि काम अघि नबढे जनताको श्राप लाग्नेछ । मर्ने बेला सास जानपनि गारो हुन्छ । यो मैले र अरुलेपनि भुल्नु हुँदैन । जनतालाई धोका दिनु हुँदैन । यसमा सबै नेता र दलको ऐकेवद्धताको खाँचो छ ।’ बूढीगण्डकीलाई अब विकास प्राधिकरण बनाएर अघि बढाउनुपर्ने तर्क पनि डा भट्टराईको छ ।
त्यस्तै कार्यक्रममा धादिङ २ बाट निर्वाचित कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले जुनसुकै मुल्य चुकाएरपनि आयोजना निर्माण हुनुपर्ने बताए ।
‘बूढीगण्डकी बन्दा गोरखा र धादिङको त कायापलट नै हुन्छ भन्ने लागेको थियो । भोली बन्छ, पर्सि बन्छ भन्दा भन्दै डेढ दशक बित्यो, खोई काम भएको ?’ उनले थपे ‘अहिलेसम्म भएका कमिकमजोरीहरुलाई सुधार गर्दै जुनसुकै मुल्य चुकाएरपनि यो बनाउनुको विकल्प छैन ।’ त्यस्तै उनले अब पुर्नवास र रिङ्गरोड निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर आयोजना अघि बढाउनुपर्ने तर्क गरे ।
कार्यक्रमका अर्का वक्ता नारायणकाजी श्रेष्ठले बूढीगण्डकी अघि बढ्न नसक्दा जनताले दुख र सास्ती व्यहोर्नु परेको बताए । ‘बन्ने–बन्ने भनेर जनताको विचल्ली बनाइयो । यो पिडाको बिषय हो ।’ पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले भने ‘राजनीतिक भिजन र नेतृत्वमा इच्छाशक्ति नहुँदा यसको प्रगती देखिएन ।’
कार्यक्रममा प्रतिनिधी सभा सदस्य हितराज पाण्डेले आयोजना बनाउन राजनीतिक प्रतिवद्धता र सबै दल मिलेर जानुको विकल्प नरहेको तर्क गरे । त्यस्तै गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्र बजागाईँले विकासमा दल र नेताको मनोमानी हुँदा आयोजना प्रभावित बनेको बताए । उनले प्रभावित क्षेत्र विकास र पूर्वाधारका हिसाबमा निक्कै पछाडी परेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला पन्तले राज्यले जनतालाई सपना देखाएर विचल्ली बनाएको भन्दै दुख ब्यक्त गरिन् । धादिङका साँसद बुद्धिमान तामाङले सरकार अहिलेसम्म आयोजनाको मोडेलमा अलमलिनु शुभ संकेत नभएको भन्दै आक्रोश ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गोरखाले पटक पटक प्रधानमन्त्री जिताएर पठाउँदा समेत आयोजना अलपत्र बन्नु विडम्बना भएको तर्क गरे । उनले सरकारले आयोजनाका लागि इन्धनबाट जनतासंग उठाएको रकमको हिसाव सार्वजनिक गर्न समेत माग गरेका छन् ।
अर्का साँसद भुवन सुनारले सदनमा जति पटक ताकेता गरेपनि काम अघि नबढेको भन्दै चिन्ता ब्यक्त गरे । त्यस्तै पूर्वसाँसद समेत रहेका चिनकाजी श्रेष्ठले राज्यले जनतालाई झुक्याएर उठिबास लगाएको आरोप लगाए । अर्का पूर्वसाँसद जिवनप्रेम श्रेष्ठले भाषणमा मात्रै विकास हुने गरेको तर फिल्डमा काम नहुँदा जनताले सास्ती भोग्नु परेको तर्क गरे । गण्डकी प्रदेशका साँसद शुसिला सिंखडाले प्रभावित सबैले अझै मुआब्जा पाइनसकेको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा, धादिङका प्रमुख नवराज अधिकारी, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेती, सिद्धलेक गाउँपालिका धादिङका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखी गाउँपालिका धादिङका अध्यक्ष यमनाथ दनै, आरुघाट गाउँपालिकाका पूर्वअध्यक्ष पूर्ण दाहाल, शहिद लखन गाउँपालिका ८ का वडाध्यक्ष बासु ढकाल लगायत राजनीतिक दलका प्रतिनिधीहरुले बोलेका थिए ।
त्यस्तै कार्यक्रममा बूढीण्डकी सरोकार समिति तर्फबाट हरेराम ढकाल र दिनेश ढकालले प्रभावितको पुर्नवास र पुर्नस्थापनाको बिषयमा सरकार गम्भिर नबनेको आरोप लगाए । त्यस्तै उनिहरुले इन्धनबाट असुलिएको रकम बूढीगण्डकी आयोजनाकै खातामा जम्मा हुने ब्यवस्था गर्न माग समेत गरे ।
कार्यक्रममा गोरखा चिन्तन समाजका उपाध्यक्ष समेत रहेका कार्यक्रम उपसमितिका संयोजक डा बुद्धिमान श्रेष्ठले बूढीगण्डकी आयोजनाको पृष्ठभूमीको ब्याख्या, हालसम्मको प्रगतीबारे अप्राविधिक प्रस्तुतीकरण गरेका थिए भने समाजका सल्लाहकार एवं कार्यक्रम उपसमितिका सदस्य ई हरेराम श्रेष्ठले आयोजनाको प्राविधिक प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमको उदेश्यबारेको प्रस्तुतीकरण समाजका उपाध्यक्ष समेत रहेका कार्यक्रम उपसमिति सदस्य ई होमनाथ पोखरेल, कार्यक्रमको समिक्षा सल्लाहकार प्रेम बहादुर थापा, धन्यवाद मन्तब्य समाजका सल्लाहकार प्रा डा ठाकुर दुवाडी र कार्यक्रमको सहजीकरण सचिव प्रदिप ढकालले गरेका थिए ।