काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।
शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
जारी विज्ञप्तिमा केही दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको र भविष्यमा थप पार्न सक्ने भएकोले सबै स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही उपचारमा सहयोग गर्न आग्रह गरिएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरू सँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्था राख्न आग्रह गरिएको छ ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरू सँग समन्वय गर्न र श्रोत साधनहरूको अद्यावधिक गर्न, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन भनिएको छ ।
मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरू, प्रदेश सम्बन्धित निकायहरू मार्फत स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको प्रवक्ता बुढाथोकीले जनाएका छन् ।
