तस्बिर : कुलदीप न्यौपाने / रासस
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।
सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए।
अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए। धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए।
विपदमा देशभर ४९ जनाको मृत्यु
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् ।