काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको कामले गति नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । गोरखा चिन्तन समाज काठमाडौंले आयोजना गरेको बूढीगण्डकी आयोजनाको अवसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा भट्टराईले आयोजनाले गति नलिदा जनतामा निराशा छाएको बताए ।
आफु प्रधानमन्त्री रहँदा ७ बर्ष सम्पन्न गर्ने लक्ष्य राखेर थालिएको आयोजना निर्माणको काम १५ बर्ष बित्दा समेत सुरु नहुनु विडम्बना भएको भन्दै दुख ब्यक्त गरे ।
‘७ बर्षमा सक्ने भनेर मेरै पालमा अध्ययनको काम थालिएको हो, तर आज १५ बर्ष बित्दापनि निर्माणको कामै सुरु नहुनु विडम्बनाको बिषय हो’ डा भट्टराईले भने ‘जनतामा निराशा धेरै नै छाएको छ, यसलाई राज्यले बुझ्नु पर्छ, नागरिकलाई विचल्ली बनाउनु हुँदैन ।’
आफू पटक पटक त्यस क्षेत्रको साँसद निर्वाचित हुँदा जनतालाई धेरै सपना बाँडेको स्मरण गर्दै भट्टराईले अबपनि बिभिन्न बाहानामा आयोजनाको काम रोक्नु जनतामाथीको घात हुने बताए ।
‘म गोरखा १ को जनप्रतिनिधीपनि भएको ब्यक्ति हुँ । निर्वाचनमा जादा मैले त्यस क्षेत्रका जनतालाई धेरै सपना बाँडेको छु ।’ उनले थपे ‘अबपनि काम अघि नबढे जनताको श्राप लाग्नेछ । मर्ने बेला सास जानपनि गारो हुन्छ । यो मैले र अरुलेपनि भुल्नु हुँदैन । जनतालाई धोका दिनु हुँदैन । यसमा सबै नेता र दलको ऐकेवद्धताको खाँचो छ ।’
बूढीगण्डकीलाई अब विकास प्राधिकरण बनाएर अघि बढाउनुपर्ने तर्क पनि डा भट्टराईको छ । आफूले गत असार १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनी मोडेल यथावत राख्न सकिने गरी बूढीगण्डकी विकास प्राधिकरण बनाउने विकल्पसहितका प्रस्तावको प्रतिवेदन बुझाएको समेत उनले जानकारी दिए । प्राधिकरणविना अब आयोजनाको कामले गति नलिने समेत उनको ठोकुवा छ ।