• शुक्रबार, साउन ८ २०८३

मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना


मंगलबार, असोज ८ २०८१
1.8K
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार)देखि नेपालको मौसम थप सक्रिय हुने जनाएको छ । सोमबार साँझ विशेष बुलेटिनमार्फत विभागले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम थप सक्रिय हुने जनाएको हो ।

विभागका अनुसार, मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना  छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यसैगरी, असोज १० गते (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । त्यस अवधिमा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

विभागले वर्षाले विषेशगरी कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरू सुरु गर्नुभन्दा अगाडि मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार