गोरखा । जलदेवी आधारभुत विद्यालयमा अहिले जम्मा ५ जना विद्यार्थी छन । शहिद लखन गाउँपालिका–९ चौतारा डाँडाको उक्त विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या ओरालो लाग्दो छ ।
विद्यार्थीको संख्या घट्दै गएपछि कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयलाई ३ कक्षामा मात्र सिमित गरिएको छ । तर पनि अहिले ३ कक्षामा एक जना पनि विद्यार्थी छैनन् ।
‘अहिले एक कक्षामा १ जना, दुईमा २ जना र इसिडीमा २ जना गरी ५ जना विद्यार्थी पढ्न आउँछन्, कक्षा ३ खाली छ,’ प्रधानाध्यापक खेमजंग थापाले भने,‘गाउँमा बालबालिका नै छैनन्, स्कूलमा वर्षेनी विद्यार्थी घट्दो छ ।’
२०३४ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले तिन जना शिक्षक छन् । जसमा स्थायी दरबन्दीको एक जना शिक्षक, बालकक्षाका एक शिक्षक गरी दुई जना दरबन्दीका शिक्षक रहेका छन । विद्यालय तीन कक्षा सम्म भएकाले स्थानीयले एक जना निजि स्रोतको शिक्षक समेत राखेर विद्यालय चलाएका छन ।
‘विद्यार्थी संख्या घट्दै गएपछि शैक्षिक सत्र २०७६ देखि हामीले ५ कक्षाबाट ३ कक्षामा झारेर पढाउँदै आएका छौं’ उनले भने,‘शहरको आर्कषण र बैदेशिक रोजगारका कारण गाउँमा मानिस नै छैन्, मानिस नै नभएपछि विद्यार्थीहरु कसरी बढ्ने ?’
आजकल जन्मदर कम रहेको र त्यसमा पनि शहरमा लगेर पढाउने प्रवृत्ति बढि भएकोले गाउँका विद्यालय शुनसान हुँदै गएको देखिन्छ ।
‘मैले २०५२ सालबाट यो विद्यालयमा पढाउन थालेको हुँ, त्यति बेला स्कूलमा भवन थिएन, फर्निचर थिएन, तर विद्यार्थी थिए,’ उनले भने,‘अहिले सबै थोक छ तर विद्यार्थी छैनन् ।’
प्राथामिक विद्यालयका रुपमा स्थापना गरिएको उक्त विद्यालय स्तरोन्नती हुँदै मावि र उच्च शिक्षाका पढाई हुनु पर्नेमा विद्यार्थी नभएपछि झनै तल झार्नु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।
‘पहिले ५ कक्षा सम्म पढाइ हुँदा एउटै कक्षामा विद्यार्थी खचाखच थियो, कक्षा ५ बाट मात्रै २५÷२६ जना त पास गरेर पठाउथ्यौं,’ प्रअ थापाले भने,‘अहिले त पुरै विद्यालयमा जम्मा ५ जना मात्रै छन, भन्न पनि लाज लाग्ने अवस्था छ ।’
उक्त विद्यालय मर्च गर्ने कुरा पनि भएको थियो । तर त्यहाँबाट नजिकै रहेको अर्को विद्यालय जान ४५ मिनेट भन्दा बढि समय लाग्छ । साना बालबालिकालाई हिडेर जान समस्या हुने भएकाले कक्षा ३ सम्मको मात्र पठनपाठन अनुमति दिइएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।
‘बक्राङको इन्द्र आधारभूत र जलदेवी आधारभूत लगायत ८ वटा विद्यालयमा अहिले एउटा शिक्षक र एउटा इसिडी दिइएर चलाइरहेका छौं,’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले भने,‘पाँच जना भन्दा कम विद्यार्थी रहेको अन्य ५ वटा विद्यालयमा इसिडी मात्र चलाइएको छ ।’
उक्त गाउँपालिकामा कक्षा १ देखि ८ सम्म चलेको ५ र ११ माध्यामिक विद्यालय रहेका छन । ती विद्यालयमा करिब २ हजार ८५० जना विद्यालय अध्यनरत रहेको उनले बताए ।
‘हाम्रो गाउँपालिकामा वर्षेनी २५०/३०० का दरले विद्यार्थी घटेको देखिन्छ,’ उनले भने,‘सोही अनुरुप खाली भएका विद्यालयहरुलाई नजिकैको पायक पर्ने विद्यालयमा गाम्भे काम भइरहेको छ ।’
ग्रामिण भेगका कतिपय ठाउँमा एउटा विद्यालय देखि अर्को विद्यालयको दुरी धेरै भएकाले कतिपय विद्यालयलाई कक्षा घटाएर राख्न पर्ने बाध्यता रहेका उनले बताए ।
नेपाल सरकारको नीति अनुसार कम्तिमा ३० मिनेट पैदल दुरीमा विद्यालय हुनु पर्ने प्रावधान छ । शहिद लखनमा जस्तै जिल्लाका अन्य पालिकामा पनि विद्यार्थीको संख्या कमि भएपछि रितिदै गएका छन् ।
तस्विर : सामाजिक सञ्जाल