गोरखा । दरौंदी दैनिक पत्रिकाले २७ औं बार्षिकोत्सव मनाएको छ । गोरखाबाट प्रकाशित हुने पहिलो समाचारमूलक पत्रिका दरौंदी दैनिकले स्थापनाको २६ औं बर्ष पार गर्दै २७ औं बार्षिकोत्सव मनाएको हो ।
दरौंदी प्रकाशन समुहका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
पत्रिकाले बार्षिकोत्सवको अवसरमा पत्रकारिताको वर्तमान अवस्था बिषयक मिडिया सम्वाद समेत आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय सञ्चार क्षेत्रमा गुम्दै गएको साख जोगाउनुपर्नेमा जोड दिए ।
सामाजिक सञ्जालदेखि युट्युव र बिभिन्न स्वार्थ राखेर खोलिएका अनलाइनहरुका कारण सञ्चार क्षेत्रकै बदनामी हुने अवस्था सृजना भएकाले त्यससको प्रभावकारी नियमन गर्ने संयन्त्र राज्यले बनाउनुपर्ने वक्ताहरुको जोड छ । अबको समयमा मल्टिमिडिया प्रभावकारी बन्ने भएकाले सबै किसिमका सञ्चार माध्यमले त्यसतर्फ समेत सोच्नुपर्ने अधिकांशको भनाई छ ।
कार्यक्रममा नगरप्रमुख रानासहित जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, पत्रकार महासंघ गोरखाका प्रर्व अध्यक्ष भीमलाल श्रेष्ठ, महासंघका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, गोरखा उधोग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेठ, गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डे, मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारी, नेकपा एमालेका सचिव काजीराम रोका, दरौंदी दैनिकका सम्पादक शिव प्रसाद उप्रेती लगायतले आफ्नो धारणा राखेका थिए ।
दरौंदी दैनिक २०५५ सालबाट प्रकाशन सुरु भएपनि २०६७ बाट नियमित रुपमा दैनिक पत्रिकाको रुपमा प्रकाशन हुँदै आएको छ । पत्रिकाले २७ औं बार्षिकोत्सवका अवसरमा विशेषांक समेत प्रकाशन गरेको कार्यकारी सम्पादक विकास मरहट्टाले जानकारी दिए ।