• शनिबार, साउन ९ २०८३

जापानिज इन्सेफ्लाइटिसका कारण यस बर्ष १४ जनाको मृत्यु, संक्रमण हुनबाट कसरी जोगिने ?


आइतबार, भाद्र ३० २०८१
1.9K
Shares

काठमाण्डौ । यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको ज्यान गएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको हो । अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो ।

नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ । जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।

सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ । जापानिज इन्सेफलाइटिस भाइरस पनि डेङ्गी, येलो फिभर र वेस्ट नाइल भाइरसहरूको वर्गमै पर्छ ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यो रोगका लक्षण हुन् । यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । धेरैजसो १५ वर्षमुनिका बालबालिकामा यो रोग देखिन्छ ।

सरकारले सन् २०१६ देखि नै १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप निःशुल्क लगाउने गरेको छ ।

जापानिज इन्सेफलाइटिस रोगबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न सधैं झुलभित्र मात्र सुत्न चिकित्सकको सुझाव छ ।

हाँस, कुखुरा,सेँगुर,बङ्गुर, जस्ता घरपालुवा चराचुरुङ्गी तथा जनावरहरुलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्न चिकित्सकको सल्लाह छ ।

त्यस्तै यस रोगको संक्रमणबाट बच्न घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन लगाउनु पर्छ ।

त्यस्तै बच्न घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने , लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार