प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको प्रहरीले जनाएको छ। लागु औषधसहित पक्राउ परेका पोखरा, लामागाउँका ३८ वर्षीय सुभाष श्रेष्ठ र रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा, नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरले पोखराकै पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको सम्बाद बाहिरिएपछि विवादमा परेका थिए।
उनलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।