गोरखा । ५८ औं साक्षरता दिवसका अवसरमा रोटरी क्लब अफ गोरखाले सदरमुकाममा प्रभातफेरीको आयोजना गरेको छ । दिवसका अवसरमा आज क्लबले आयोजना गरेको प्रभातफेरीले गोरखा सदरमुकामको परिक्रमा गरेको हो ।
गोरखा नगरपालिका ८ प्रतिक्षालय स्थित क्लब सचिवालयबाट सुरु भएको प्रभातफेरी हरमटारी, शक्तिचोक हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
क्लबका अध्यक्ष विनोद कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यता रहेको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।
प्रभातफेरी पश्चात भएको कोणासभामा बोल्दै नगरप्रमुख रानाले विद्यालय शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित हुन नहुने तर्क राखे । उनले हाल नगरपालिकाले विद्यालय शिक्षाबाट बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गरिरहेको र सो पश्चात उनिहरुलाई विद्यालयसम्म पु¥याउन नगरपालिकाले पहलकदमी लिने प्रतिवद्धता जनाए ।
सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिका प्रयासरत रहेको र त्यसका लागि विद्यालय सुधारका बिभिन्न योजनाहरु लागू गरिएको समेत उनले जानकारी दिए ।
आगामी दिनमा सतप्रतिशत बालबालिकालाई विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने र सचेत नागरिक उत्पादन गर्न नगरपालिकाले बिभिन्न अभियानको थालनी गरेको उनको भनाई छ ।
कार्यक्रममा रोटरी क्लबका एजी तथा क्लबका पूवअध्यक्ष विशाल रानाले गोरखाको साक्षरता अभियानमा सबै निकाय तथा संघसंस्थाहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने तर्क राखे ।
साक्षरता सम्बन्धि बिभिन्न सचेतनामुलक नारा लेखिएका प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा रोटरी क्लब, रोट्राक्ट क्लब अफ गोरखा तथा इन्ट्राक्ट क्लब अफ ओल्ड क्यापिटलका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।