गोरखा । बुंकोटको शहीद स्मृति माध्यामिक विद्यालयका विद्यार्थीले लप्सीको अचार बनाएर बेच्न थालेका छन् ।
शहिद लखन गाउँपालिका वडा नं. ७ मा रहेको उक्त विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत लप्सीको अचार बनाएर बेच्न थालेका हुन् ।
‘विद्यार्थीलाई पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत वर्षेनी विभिन्न कार्यक्रम गर्दै आइरहेका छनं,’ प्रधानाध्यापक रोहिणीप्रसाद खनालले भने,‘सोही कार्यक्रम अन्र्तगत यो वर्ष हामीले विद्यार्थीलाई लप्सीबाट अचार बनाउन सिकाएका हौ ।’
विद्यार्थीलाई सीपसँग जोड्न गत वर्ष च्याउ खेती गर्न सिकाएको उक्त विद्यालयले यस वर्ष भने लप्सीबाट अचार बनाउन सिकाएको छ ।
‘विद्यालयको हाता भित्रै फलेको लप्सी गत वर्ष त्यत्तिकै खुल्ला बेचियो,’ उनले भने,‘यो वर्ष विद्यार्थीलाई पनि सीप सिकाउन सकिने र विद्यार्थीको लागि पनि केही आम्दानी हुनेगरी हामीले यो कार्यक्रम गरेका हौं ।’ विद्यार्थीले बनाएको उक्त अचारको एक डब्बाको १५० रुपैयाँको दरले बेच्ने गरेको उनले बताए ।
‘हामीले अहिले एउटा बोटको लप्सी मात्र टिपेका छौं, एक किलो लप्सीको ४ डम्बा जति अचार हुँदो रहेछ,’उनले भने,‘अचारको माग धेरै आएको छ, माग अनुसार पुर्याउन सकिएको छैन् ।’
अचार बनाउने शिक्षक शिक्षिकाले सिकाउने गरेका छन । विद्यार्थीहरुले फुर्सदको समयमा आएर अचार बनाउने र बेच्ने गरेको उनको भनाई छ । ‘हामीसँग अझै ३/४ वटा लप्सीका बोटहरु बाँकी छ, क्रमश सबै बोटहरुमा भएको लप्सी टिपेर अचार बनाउन लगाउँछौं,’ उनले भने,‘विद्यार्थी भाइ बहिनी उत्साहका साथ आउँछन्, अचार बनाउने गर्छन् ।’
अचारबाट भएको आम्दानी विद्यार्थीहरुले सञ्चालन गर्न मिल्ने गरी रेडक्रसको खातामा जम्मा गर्न गरिएको छ । ‘यसरी नै विभिन्न कार्यक्रम गरेर केही रकम जम्मा गर्नु भएको छ,’ उनले भने,‘उक्त रकम असहाय विद्यार्थीहरुको लागि र अन्य विभिन्न सांस्कृतिक तथा सामाजिक कामहरुको खर्च गर्न गरिएको छ ।’
अचार बनाउन आवश्यक सामाग्री सुरुमा विद्यालयले जुटाइदिएको थियो, तर अहिले अचार बिक्रिबाट आएको रकमबाट आफै संकलन गर्दै आएको उनको भनाई छ ।
‘यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवारिक ज्ञान दिनुका साथै, ब्यावसायीक हुन पनि सिकाउँछ ’ उनले भने, ‘यसले बालबालिकालाई आन्तनिर्भर हुन र श्रमलाई माया गर्ने पनि बनाउँछ ।’ आगामी वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै विद्यालय क्षेत्र भित्रै रहेको आपबाट अचार बनाउन सिकाउने उनको योजना छ ।