गोरखा । गोरखामा एकै दिन २१ जनाले कोरोना जितेका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि गोरखा क्याम्पसको आइसोलेसनमा रहेकाहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । मंगलबार कोरोना जितेर घर फर्कने मध्ये ५ बर्षका बालकदेखि ७७ बर्षका बृद्धसम्म रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । जसमध्ये २ महिला र १९ पुरुष छन् ।
आज डिसचार्ज हुनेमा गत असार ७ देखि १० गतेभित्र आइसोलेसनमा ल्याइएकाहरु रहेको अर्यालको भनाई छ । त्यस्तै मंगलबार रिपोर्ट नेगेटिभ आएकामध्ये सबैभन्दा बढी ११ जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । भिमसेन थापा गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का ९ पुरुषसहित २ महिला रहेको उनले बताए ।
उनिहरु त्यस्तै मंगलबार डिसचार्ज हुनेमा गोरखा नगरपालिकाका २ जना छन् । जुन वडा नम्बर २ का १५ र ७७ बर्षका पुरुष रहेको बताइएको छ ।
त्यस्तै पालुङटार नगरपालिकाका ३ जना पनि मंगलबार नै डिसचार्ज भएका छन् । वडा नम्बर ७ घर भएका उनिहरु २८, ४१ र ४५ बर्षका पुरुष रहेको जनस्वास्थ्य निरिक्षक अर्यालले जानकारी दिए । यसैगरी डिसचार्ज हुनेमा शहिद लखन गाउँपालिकाका ३ जना रहेका छन् । उनिहरु सबै २३ बर्षका पुरुष रहेको अर्यालले बताए । वारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका १/१ जना पुरुषको समेत कोरोनाको लक्षण नेगेटिभ आएको छ । उनिहरु क्रमश २४ र ५० बर्षका पुरुष हुन ।

रिपोर्ट नेगेटिभ आएका सबैलाई मंगलबार साँझसम्म गाउँपालिकाको प्रतिनिधीको जिम्मामा घर पठाइएको छ । कोरोना संक्रमण भएर आइसोलेसनमा राखेपछि दुई पटक स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाहरुलाई होम क्वारेनटाइनमा पठाइएको जनस्वास्थ्य निरिक्षक अर्यालले बताए । त्यस्तै आइसोलेसनमा बसेको १४ दिन कटेपछि एक पटक कोरोनाको लक्षण आएकाहरुलाई समेत अनिवार्य होम क्वारेनटाइनमा बस्नेगरी घर पठाइएको उनको भनाई छ ।
केहि दिनअघि गोरखा अस्पतालको आइसोलेसनबाट भिमसेन थापा गाउँपालिकाकै ३ बर्षका बालक समेत कोरोना जितेर घर फर्किएका थिए । यससंगै अहिलेसम्म गोरखामा कोरोना जितेर डिसचार्ज हुनेको संख्या ५२ पुगेको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।