काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।
साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।
साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो ।