• शुक्रबार, साउन ८ २०८३

सामाजिक सुरक्षा कोष: श्रीमान-श्रीमतीले मात्रै पाउँदै आएको औषधोपचार सुविधा अब सन्तानले पनि पाउने


बिहिबार, भाद्र १३ २०८१
2K
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका श्रीमान्, श्रीमतीले मात्रै पाउँदै आएको औषधोपचार सुविधा अब १८ वर्षसम्मका छोराछोरीले पनि पाउने भएका छन्।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले तीन महिनाभित्र कोषमा आबद्ध औपचारिक क्षेत्रमा कार्यरत आश्रित परिवारका छोराछोरीले पनि औषधोपचार सुविधा पाउने गरी काम भइरहेको जानकारी दिए। उनले जम्मा गरेको रकमको प्रिमियमले खर्च धान्ने निष्कर्ष निस्किएको हुनाले तीन महिनाभित्र आश्रित परिवारका छोराछोरीले पनि उपचार सुविधा पाउने बताए ।

अहिले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती तथा १८ वर्ष उमेरसम्मका छोराछोरीले वार्षिक १ लाख रुपियाँसम्मको औषधि उपचार सुविधा पाउँदै आएका छन्। अब भने स्वदेशका विभिन्न औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका परिवारले पनि औषधोपचार पाउने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए।

कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी गरी तीनओटा क्षेत्रमा कार्यविधि बनाएको छ। जसमा विदेशमा काम गर्ने वैदेशिक, स्वदेशमा रहेर मकै पोल्ने, मजदुरी गर्ने अनौपचारिक र स्वदेशका विभिन्न कम्पनीमा काम गर्ने औपचारिक भनेर विभाजन गरेको छ।

अहिले वैदेशिक रोजगारीमा गएका र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रीमान्, श्रीमती र १८ वर्ष उमेरसम्मका छोराछोरीलाई ओपीडीमा २० हजार र आईपीडी (भर्ना हुने बिरामी) लाई ८० हजारसम्मको उपचार खर्च कोषले व्यहोर्दै आएको छ।

तर, स्वदेशमा रहेका औपचारिक क्षेत्रमा काम गर्नेको हकमा भने श्रीमान् र श्रीमतीको मात्र उपचार भइरहेको छ। औपचारिक क्षेत्रमा काम गर्नेको श्रीमान्, श्रीमतीको उपचार व्यवस्था २०७९ साल पुस ६ गतेपछि मात्र लागू गरेको कोषले फेरि छोराछोरीका लागि पनि उपचार सुविधा दिन लागेको कोषले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार