काठमाण्डौ । जलाशययुक्त बूढीगण्डकी जलविधुत आयोजना निर्माणमा सरकारी निकाय उदासिन बनेको भन्दै गोरखा चिन्तन समाजले चिन्ता ब्यक्त गरेको छ ।
समाजले काठमाण्डौमा आयोजना गरेको बूढीगण्डकी आयोजनाको अवसर र चुनौती बिषयक समुह छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारी पक्ष उदासिन बन्दा आयोजना निर्माणका ढिलाई भएको बताएका हुन् ।
हालसम्म ४३ अर्ब भन्दा बढी मुआब्जा वितरण भइसकेको बूढीगण्डकी आयोजना निर्माणका सवालमा सरकार अहिलेसम्म यसको डिजाइन र मोटालिटीमै अलमलिनु दुर्भाग्य भएको वक्ताहरुको भनाई छ ।
समाजका अध्यक्ष गेहेन्द्र विष्टको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आयोजनाका प्रमुख मधु भेटवालसहित पूर्व प्रुमखहरु हरेराम कोइराला, गोपाल बस्नेत, जगतकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका डेपुटी एमडी प्रवल अधिकारी, हाइड्रो विज्ञ हरि पण्डित, सुरेश मरहट्टा, किरण श्रेष्ठ, डिपी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा समाजका सल्लाहकार डा हरेराम श्रेष्ठ, प्रा.डा. ठाकुर दुवाडी, ज्ञानेन्द्र देवकोटा, कृष्णसिंह बस्नेत लगायतको समेत उपस्थिती रहेको कार्यक्रम संयोजक डा बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
संयोजक डा श्रेष्ठका अनुसार आयोजना निर्माणमा भइरहेको ढिलाई र तत्काल काम अघि बढाउनका लागि सरकारलाई दवाव सृजना गर्न समाजले बिभिन्न कार्ययोजना समेत निर्माण गरेको जानकारी दिए ।
जसअनुसार यो पहिलो कार्यक्रम अन्तरगत आयोजनासंग सम्बन्धित मुख्य सरोकारवालाहरुसंग समुह छलफल गरिएको उनको भनाई छ । आयोजनालाई द्रुत गतिमा अघि बढाउन सरकारलाई सुझावसहित दवाव सृजना गर्न समाजले आगामी दिनमा समेत बिभिन्न कार्यक्रमहरु तय गरेको सचिव प्रदिपबाबु ढकालले जानकारी दिए ।