गोरखा । सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शरद कट्टेल सर्वसम्मत चयन भएका छन् । शनिवार भएको १४ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले कट्टेलको अध्यक्षतामा चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । कट्टेल यसअघि समेत अध्यक्ष थिए ।
अधिवेशनले संस्थाको कार्यसमितिको उपाध्यक्ष काजिराम श्रेष्ठ, सचिव श्रवणकुमार जोशी र कोषाध्यक्ष विशाल रानामगर चयन गरेको छ ।
यस्तै सदस्यहरुमा बसन्त बस्नेत, ज्ञानहरि अर्याल, भोलाप्रसाद मरहट्टा, रामहरि केसी र मनकाजी श्रेष्ठ सर्वसम्मत भए । साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण खत्रीलाई चयन गरेको छ । जसको सदस्यमा गोकर्ण रानामगर र दण्डपाणी कट्टेल चयन भएका छन् ।
सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा ५५ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारणसभामा जानकारी गराइएको छ । सभामा सचिव काजीराम श्रेष्ठ र कोषाध्यक्ष विशाल रानामगरले गत आर्थिक वर्षको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सचिव श्रेष्ठको प्रतिवेदन अनुसार उक्त सहकारीको कुल शेयर पूँजी ४ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको रहेको छ भने २० करोड ४७ लाख ३६ हजार रुपैयाँ बचत गरि १६ करोड ३३ लाख ६९ हजार रुपैयाँ लगानी भएको छ । २०६७ सालबाट कारोबार शुरु गरेको सहकारीमा हाल ५ शय ५९ महिला र ४ शय ६२ पुरुष गरि १ हजार २१ जना शेयर सदस्य रहेका छन् ।
यस्तै कोषाध्यक्ष रानामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष चुक्ता पुँजीमा झण्डै ७ प्रतिशत तथा बैङ्क तथा नगद मौज्दात २२ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
उक्त सहकारीको रेमिटान्सबाट हुने आम्दानी भने घटेको छ । सहकारीको कृषि, पर्यटन तथा घरेलु उद्योगमा गरेको कर्जा लगानी भने २५ प्रतिशतले बढेको साधारणसभामा जानकारी दिइएको छ । साधारणसभाका क्रममा सहकारीका संस्थापक अध्यक्ष अच्युतलाल श्रेष्ठलाई सम्मान गरिएको छ।
अध्यक्ष शरदबाबु कट्टेलको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, संस्थापक अध्यक्ष श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष मोहसिन अलि मियाँ, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्णकुमार श्रेष्ठ, शेयर सदस्यहरु मध्येबाट कपिलबाबु अर्याल र गौरी अधिकारी कट्टेल लगायतले बोलेका थिए ।