गोरखा । भनिन्छ, चराका बचेराहरु पनि सधै एउटै गुँडमा बस्दैनन् । जब पखेटा लाग्छ अनि आफ्नो बाटो लागिहाल्छन ।
त्यस्तै मानिस पनि सधै कहाँ एक ठाउँमा बस्न सक्छ र ? पेशा व्यवसायको शिलशिलामा देश विदेश पुग्नु पर्छ । यसरी हिड्नेहरुले आफ्नो गाउँघर र थाकथलोलाई चटक्कै बिर्सिदिन्छन । जसले गर्दा अहिले गाउँठाउ रित्तो र सुनासन बन्दै गएको अबस्था छ ।
यसरी गाउँबस्ती रित्तिन नदिन गोरखा सदरमुकाम र आसपासमा गोरखा फर्क अभियान सुरु भएको छ । पेशा व्यवसायको शिलशिलामा लामो समय देखि बाहिर रहेकाहरुलाई बिस्तारै यहाँका धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउने अभियानको उदेश्य छ ।
‘सबै आफ्नो काममा व्यस्त छन । गाउँठाउँको बारेमा सोच्ने कसैलाई फुर्सद छैन,’ उक्त अभियानका अभियान्ता साहित्यकार, गीतकार डा. राजुबाबु श्रेष्ठले भने, ‘उनीहरुलाई कम्तिमा एक/दुई दिन भएपनि गोरखा आउने वातावरण बनाउन यो अभियान थालेका हौं ।’
सोही अनुरुप हाल लिल्ला बाहिर रहेका करिब ५० घरपरिवार यो वर्षको गाईजात्रा मनाउन गोरखा आउने लागेका छन् । उनले सो कुराको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका छन् ।
‘गोरखा अर्थात आफ्नो जन्मभूमीलाई माया गर्ने केही व्यक्तिहरुले थालनी गरेका हौं । यो हाम्रो सानो प्रयास मात्र हो,’ उनले भने, आउनेहरुको लिष्टमा नाम थपिदै छ ।’ मानिसहरुले आफ्नो जन्मभूमी र गाउँठाउँलाई बिर्सदै गएको अबस्थामा यस्तो कार्यक्रम केही अर्थ राख्ने विश्वास लिएको छ ।
स्थानीय कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न, सोको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन पनि अभियान गरिएको उनले बताए । ‘अहिले यहाँका जात्रा, उत्सव र कार्यक्रमहरुमा पहिले जस्तो गाउँगाउँबाट मानिस आउँदैनन्, यहाँका मानिसहरु रित्तिसके,’ उनले भने,‘फेरी त्यसलाई पुर्नजागृत गराउन सकिन्छ की भनेर सानो प्रयास गरेका हौं ।’
यो अभियानले आफ्ना परिवारका सदस्य, साथी भाई, छरछिमेकी र गाउँ समाजका व्यक्तिहरुसँग भेटघाट गर्ने अबसर पनि मिल्ने उनको विश्वास छ । साथै पुरानो सम्बन्धलाई नविकरण गर्न मद्धत समेत पुग्नेछ ।
‘आफ्नो बाबु बाजे जन्मिएको ठाउँ छोरा छोरीले नचिन्ने अवस्था छ,’ उनले भने,‘यसरी वर्षमा केही दिन भएनी आएर बस्ने गर्नाले उनीहरु पनि पुख्र्यौली थलो प्रति आधार, सम्मान र माया बढ्न सक्छ ।’
यसले गोरखाको परम्परागत बजार रहेको ठूलो आँगन क्षेत्रको संरक्षण र सम्र्बद्धनमा पनि सहयोग गर्ने विश्वास लिइएको छ । कम्तिमा चाडपर्व मनाउन आउदा पनि यहाँका कला, संस्कृति परम्पराहरु पनि लोप हुनबाट बचाउन सकिने उनको भनाई छ ।
‘पहिलो चरण गोरखा र्फक अभियान गरेका छौ,’ उनले भने,‘दोस्रो चरण सम्बन्ध जागृत गर्ने र तेस्रो चरणमा लगानी भित्र्याएर चरणबद्ध रुपमा विभिन्न काम गर्दै लैजाने योजना रहेको उनले बताए ।