• शनिबार, साउन ९ २०८३

गोरखा जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट, नयाँ मुद्दामा ६१ प्रतिशत सम्बन्ध विच्छेदका


सोमबार, साउन २१ २०८१
1.7K
Shares

गोरखा । गोरखा जिल्ला अदालतबाट गत बर्ष लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट भएको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०८०/८१ मा अदालतले ५९७ मुद्दा फर्स्योट गर्ने लक्ष्य लिएको थियो तर असार मसान्तसम्म आइपुग्दा ६२३ मुद्दा फर्स्योट गर्दै लक्ष्यभन्दा बढी प्रगती हासिल गरेको तथ्यांकमा उल्लेख छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत गोरखाले गएको आ.व.को प्रगती विवरण सार्वजनिक गरेको हो ।

अदालतका स्रेस्तेदार मदनकुमार भट्टराईका अनुसार ८०/८१ मा ६३ दशमलव ६ प्रतिशत मुद्दा फर्स्योट भएको छ । आ.व. २०८०/८१ मा ७१८ वटा नयाँ दर्ता भएका र २६२ वटा पुराना गरी ९८० मुद्दा रहेकोमा ६२३ वटा फर्स्योट भएको र ३५७ बाँकी रहेको भट्टराईले बताए ।

तर प्रगती प्रतिशत हेर्दा अघिल्लो बर्षको तुलनामा भने यो बर्ष कम हो । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा जिल्ला अदालत गोरखाबाट ७२ दशमलव ५ प्रतिशत मुद्दा फर्स्योट भएका थिए । जसमा ९५५ मुद्दामा ६९३ मुद्दा फर्स्योट भएका थिए । यो संख्यालाई हेर्दा अघिल्लो बर्षको तुलनामा प्रगति २०८०/८१ मा झण्डै १० प्रतिशत कम हो ।

मुद्दाको प्रकृति हेर्दा गत बर्ष सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको स्रेस्तेदार भट्टराईले बताए । जसमा यो पछिल्लो बर्ष ७१८ दर्ता भएकामा ४३६ मुद्धा सम्बन्ध विच्छेदका रहेको उनको भनाई छ । नयाँ दर्ता भएको मुद्दालाई हेर्दा सम्बन्ध विच्छेदका मात्रै झण्डै ६१ प्रतिशत हुन आउछ ।

पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिश शिव बहादुर रानाभाटले अदालतले छिटो छरितो सेवा दिन बिभिन्न प्रयासहरु गरिरहेको जानकारी गराए । ‘गोरखा जिल्लाको भुगोल हेर्दा अत्यन्तै विकट र अफ्टेरो छ, गाउँगाउँबाट अदालतसम्म आएर मुद्दा लड्न् कम्ति चुनौतीको बिषय छैन’ न्यायाधिश रानाभाटले भने ‘यी बाध्यताहरु हामीले बुझेका छौ, मुद्दाको प्रकृति हेरेर हामीले सकेसम्म छिटो फैसला गरिदिने प्रयत्न गरिरहेका छौ ।’

न्यायाधिश रानाभाटका अनुसार यहि साउन १ गतेदेखि अदालतले स्वचालित पेशी ब्यवस्थापनको सुरुवात समेत गरेको छ । यसले मुद्दाको छिनोफानो छिटो छरितो बनाउन सहज हुने विश्वास लिइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार