तनहुँ- तनहुँको व्यास नगरपालिकाले डेंगु परीक्षणका लागि बढीमा ६०० रूपैयाँमात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको छ।
नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँ शुल्क लिन निर्देशन दिएको हो।
‘तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ,’ उनले भने। पछिल्लो समय डेंगी सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ।
नगरपालिकाले डेंगी नियन्त्रणका लागि विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। गत आर्थिक वर्षमा नगरपालिका डेंगीले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालयस्तरमा अभिमुखीकरण थालेको हो।
वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेंगी रोगका सङ्क्रमित देखिन सुरु भइसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेंगी नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको सोतीले बताए।
‘स्वास्थ्य शाखाका कर्मचारीले विद्यालयस्तरमा पुगेर विद्यार्थीलाई यस रोगका बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका छन्,’ उनले भने। रासस