गोरखामा गएराति पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाले अझै फेला परेका छैनन्।
गोरखाको उत्तरी क्षेत्रमा धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति ३ बजे पहिरोले एक पुरिँदा एकै घरका तीनसहित पाँचजना बेपत्ता भएका हुन्।
पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनालाई भने हेलिकप्टरमार्फत् काठमाडौँ पठाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिए।
गएराति ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित पाँच जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा सोलाल कान्छा गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ र गोरखाकै आरुघाट गाउँपालिका घर भएका ट्याक्टर चालक रमेश परियार पनि पहिरोमा बेपत्ता छन्।
पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ र खमबहादुर गुरुङ गम्भीर घाइते भएका छन्।
पहिरोस्थल नजिकै रेसे खोला अपार रेसे हाइड्रो पावार निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुर पनि सो घरमा बस्दै आएका थिए।
राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको हो। घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन्।
घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी स्थानीयलाई गराएपछि उद्धार कार्य सुरु भएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले घटनास्थलमा नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरी उद्धारको लागि गएको बताए।