• शनिबार, साउन ९ २०८३

७३ जिल्लामा फैलियो डेंगी, सबैभन्दा बढी संक्रमित काठमाडौँमा


शुक्रबार, असार २१ २०८१
1.2K
Shares

काठमाडौँ- डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा संक्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सक्रमण देखिएको जानकारी दिए ।

मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको संक्रमण बढ्ने आँकलन गरेको छ ।

सबैभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगी देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगी संक्रमण देखिएको छ । उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ । रोग शाखाका प्रमुख डा दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार