गोरखा । त्रिशुली नदीमाथी रहेकाे गोरखा-धादिङ जाेड्ने तुइन बिस्थापित हुदा साे क्षेत्रका स्थानीयकाे दैनिकी फेरिएकाे छ ।
तुइन र खिरखिरेमार्फत जोखिमपूर्ण तरिकाले त्रिशूली नदी वारपार गर्दै आएका गोरखा र धादिङ जिल्लाका स्थानीयवासीको साे क्षेत्रमा झाेलुङ्गे पुल बनेसंगै दैनिकीमा परिवर्तन आएको हाे।
झोलुंगे पुल बनेपछि त्रिशूली नदी पारि रहेकाे गोरखाकाे गण्डकी गाउँपालिकाका स्थानीयलाई काम विशेषले बजार झर्नु पर्दा, उत्पादन बजारसम्म पुर्याउदा, विद्दार्थी विद्यालय जाँदा र बिरामीलाई अस्पतालसम्म लैजान धेरै सहज भएको छ।
तुइन विस्थापित गरी जोगीमारा, जवाङ, चौकीटार, कृष्णभीर, चरौंदी, मालिङ्गा, चालिसे र बेल्खुमा झोलुंगे पुल निर्माण गरिएको छ।
गोर्खा र धादिङको सिमाना त्रिशूली नदीले छुट्याएको छ। एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न यसअघि यहाँका बासिन्दा जोखिम मोलेर तुइनको प्रयोग गर्न बाध्य थिए। पुल निर्माण भएपछि जीवनमा ठूलो परिवर्तन आएको स्थानीय बताउँछन्।
केहि बर्षअघिसम्म ११ वटा तुइन रहेकाे यस क्षेत्रमा अहिले ति सबै तुइनलाई झोलुंगे पुलले विस्थापन गरिसकिएको छ। ट्युब र तुइन प्रयोग गरेको ठाउँमा झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका स्थानीयकाे दैनिकीमा ठूलाे परिवर्तन आएकाे छ ।