गोरखा । गोरखा घर भई वेलायत तथा अमेरिकामा रहेका युवाहरुले भिमसेन थापा गाउँपालिकाका एक सय बढी विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । भिमसेन थापा गाउँपालिका ६ झिँगटे स्थित श्री ध्रुबज्योति आधारभुत विद्यालयका १ सय ९ जनालाई उनिहरुले झोला, कापी, कलम, ड्रेस सहयोग गरेका हुन् ।
भिमसेन थापा गाउँपालिका घर भई हाल अमेरिका बस्दै आएका सतिष वस्ती तथा बेलायत बस्ने पारस गुरुङ, रञ्जित तामाङ र रबिना श्रेष्ठले सो विद्यालयका विद्यार्थीहरुलाई १ लाख ३१ हजार रुपैया बराबरको शैक्षिक सामाग्री पठाएका हुन् ।
उनिहरुले पठाएको रकमबाट शैक्षिक सामाग्री खरिद गरि सोमबार विद्यालयाम विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ । एकिकरण नेपाल गोरखाको समन्वयमा विद्यालयका १०९ जना विद्याार्थीलाई सोमवार गाँउपालिकाको उपाध्यक्ष अमृता वस्तीले विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
विव्यस अध्यक्ष श्री मञ्जुर मियाँको अध्यक्षामा भएको उक्त कार्यक्रमा विद्यालयको प्रधानाध्यापक जहिमा खातुनले विद्यालयमा विपन्न, मुस्लिम तथा सिमान्तकृत बालबालिकाहरु धेरै भएको र शैक्षिक सामग्रीहरु झोला, कापी कलम आवश्यकता रहेकोमा समन्वय तथा सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष वस्तीले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताइन् । स्थानीय तहसंग सिमित स्रोत साधन रहेकाले सबैको आवस्यकता र मागलाई सम्बोधन गर्न कठिन हुने हुँदा गैरसरकारी संस्था, नीजि क्षेत्र सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
शैक्षिक सामाग्री वितरणका लागि समन्वयकारी भुमिका खेलेका एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले ग्रामिण समुदायको शैक्षिक सुधारका लागि आफ्नो संस्थाले जिल्लाभर बिभिन्न दातृ निकायसंगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराए । देवकोटाले भने ‘विद्यालयको सल्लाहको आधारमा गुणस्तरीय सामग्रीहरु खरिद गरेका छौ, आशा छ, यसले नानीवावुहरुको पढाईमा धेरै योगदान गर्नेछ ।’
यस कार्यक्रमका लागि रकम संकलनको समन्वय गरेको सतिष वस्तीले यस कार्यक्रमको उपलब्धिको समिक्षा गरि भावी दिनमा पनि अन्य विद्यालयहरुमा काम गर्न सकिने अपेक्षा देवकोटाले गरे ।
१०९ जना विद्यार्थीको लागि झोला, कापी कलम, २ जना विद्यार्थीको लागि विद्यालय पोशाक तथा ढुवानी गरी कुल १ लाख ३१ हजार खर्च भएको एकिकरण नेपाल गोरखाले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरु, शिक्षक, पत्रकार, अभिभावक तथा स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो ।