गोरखा । शनिबार कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । पालुङटार नगरपालिका ७ घर भएका ४४ बर्षिय पुरुषको संक्रमणकै कारण मृत्यु भएपछि शव गाड्ने भनिएको गोरखा नगरपालिका १२ र १३ साथै शहिद लखन गाउँपालिका १ को सिमाना आसपासका बासिन्दाको बिरोधका कारण शनिबार दिनभर अबुवा क्षेत्र तनावग्रस्त बनेको थियो ।
गत १६ गते कतारबाट फर्किका ति पुरुषको शवलाई दरौदी र लुदी खोलाको दोभान क्षेत्रमा गाड्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । सो निर्णय थाहा पाए लगत्तै त्यस क्षेत्रका बासिन्दा भेला भएर दिनभर विरोध गर्दा प्रहरीसंग झडपको समेत अवस्था सृजना भयो । कोरोना संक्रमितको शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रशासनले सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरेको थियो ।
सुरुमा सम्झाईबुझाई गर्दा समेत स्थानीयले नमानेपछि स्थितीले झडपको रुप लिन पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । ‘उहाँहरुलाई हामीले धेरै पटक सम्झायौ, बुझाउन खोज्यौ तर मान्नु भएन’ एसपी गुरुङले भने ‘उल्टै हामीलाई ढुंगा हान्नु भयो, दुव्यवहार गर्न खोज्नुभयो ।’
प्रहरी माथी स्थानीय बासिन्दाले ढुंगामुढा गर्न थालेपछि भडिलाई तितरवितर पार्न प्रहरीले ९ राउण्ड अश्रुग्यासँ समेत प्रहार गरेको उनको भनाई छ । तर अश्रुग्याँस प्रहार गर्दा समेत स्थानीयले अवरोध गर्न नछाडेपछि शनिवार दिनभर लुदी दोभान र अबुवा क्षेत्र तनाग्रस्त बन्न पुगेको थियो । शव गाडिएको ठाउँबाट कोरोना संक्रमण फैलन्छ भन्दै स्थानीय वृद्धवृद्धा र महिला समेत अवरोधमा उत्रिएका थिए ।
बिरोध हटाउन प्रहरीले केहि समय बल समेत प्रयोग गर्नु परेको एसपी गुरुङले बताए । लाठीचार्जबाट केही स्थानीय घाईते भएका छन् भने अवरोधमा उत्रिएका स्थानीयले ढुङ्गा प्रहार गर्दा एक प्रहरी पनि घाईते भएका छन् ।
दिनभरको तनावपछि भिड साम्य बनाएर साँझ ५ बजे मात्रै शव जिल्ला अस्पतालबाट लुदी र दरौदी दोभानमा पु¥याइएको थियो । शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलसनमा भर्ना गरिएका सो ब्यक्तिको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।
तर करिब १२ घण्टापछि उनको अन्त्यष्टी गरिएको छ । अन्त्यष्टीमा नेपाली सेनाले सलामी दिदै १० फिट गहिरो खाल्डोमा सुरक्षित पूर्वक गाडिएको बताइएको छ ।
