गोरखा । जिल्लामा यस वर्ष ८ हजार ५३९ जना बालबालिकालाई पोलियो बिरुद्धको आइपीभि खोप लगाउन सुरु गरिएको छ । बुधबार गोरखा नगरपालिका–६ स्थित महेन्द्र ज्योती मावि दरबारमार्गका बालबालिकालाई खोप लगाएर खोप अभियान सुरु गरिएको हो ।
यसैगरी जिल्लाका अन्य पालिकामा पनि कार्यक्रम गरी आइपीभि खोप लगाउन सुरु गरिएको छ । २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका तर, उक्त खोप लगाउन छुट भएका बालबालिकालाई आईपिभि खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाका ११ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । जसको लागि २५९ स्थानमा खोप निर्माण गरिएको छ । कोही पनि बालबालिका आइपिभि खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्य सहित २५९ जना स्वास्थ्यकर्मी, ५९८ स्वयंसेवक, ५९८ जना शिक्षक खटाइएको उनले बताए ।
खोप अभिायनलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तह, अस्पताल र स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले बताए । खोप अभियान अन्र्तगत जिल्लाका ४११ वटा सामुदायिक विद्यालय र ३४ वटा निजि विद्यालयका विद्यार्थी लाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको छ ।
सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाइएको उनले दाबी गरे । ११ वटा स्थानीय भएको जिल्लामा सबैभन्दा धेरै गोरखा नगरपालिकामामा २ हजार ४८६ बालबालिका र सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा २९७ बालबालिकामा खोप लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । बुधबारदेखि जेठ २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा, बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउन स्वास्थ्य कार्यालय गोरखाले आग्रह गरेको छ । आई पि।भी खोप अभियान कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वयका उपप्रमुख लिला परियार लगायतले मन्तव्य राखेका थिए ।