गोरखा । कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीले सात राउण्ड अश्रृग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका छन् । त्यहाँ भन्दा माथि बक्राङ तर्फबाट प्रहरीलाई लक्षित गरेर ढुङ्गा प्रहार भईरहेको प्रहरीले जनाएको छ ।
गोरखामा कोरोना संक्रमितको शव ब्यवस्थापनमा बिहानदेखि नै स्थानीयले अवरोध गरेका थिए । शनिबार बिहान ५ बजे संक्रमणकै कारण गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ बर्षिय पुरुषको शव जिल्ला कमाण्ड पोष्टले दरौदी र लुदी खोलाको दोभानमा गाड्ने निर्णय गरेको थियो ।
सो निर्णय सुने लगत्तै शहिद लखन गाउँपालिका १ बक्राङ क्षेत्रका स्थानीयले सो क्षेत्रमा शव ल्याउन नदिने भन्दै विरोध गरिरहेका छन् । यता स्थानीयको अवरोध हटाउन जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षाकर्मी परिचालन गरेको एसपी सुरेन्द्र गुरुङले बताएका छन् ।
मृतक गत मंगलबार कतारबाट आएर क्वारेनटाइनमा बसेका थिए । काेराेना संक्रमण देखिएपछि शुक्रबार राती १० बजे गाेरखा अस्पताल ल्याइएका उनकाे शनिबार बिहान निधन भएकाे जिल्ला अस्पतालले जनाएकाे छ ।