काठमाडौं । उपत्यकाका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेकाे छ । ढलमा कोभिड १९ को भाइरस फेला परेपछि समुदायस्तरमा संक्रमण फैलिएको विज्ञहरुले बताएका छन् ।
सेन्टर फर मलिकुलर डायनामिक्स नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।
उक्त अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययन कर्ता बैज्ञािनक डाक्टर दिवेस कर्माचार्यले बताए । संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य अनुसार नेपालमा पनि अध्ययन गरिएको उनले बताए ।
उनले पूरै वस्तीको ढलको नमूना ल्याइएकोले पूरै वस्तीका मानिसमध्ये धेरैलाई संक्रमण भएकाे हुन सक्ने बताए ।
यो अध्ययनले परिक्षणको दायरा कम भएको र समुदायमा संक्रमण फैलिइसकेको देखिएकाे डाक्टर कर्मचार्य बताउँछन् । अध्ययनले संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने कर्माचार्यले बताए ।