गोरखा । गोरखामा कोरोना संक्रमितको शव ब्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शनिबार बिहान ५ बजे संक्रमणकै कारण गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ बर्षिय पुरुषको शव जिल्ला कमाण्ड पोष्टले दरौदी र लुदी खोलाको दोभानमा गाड्ने निर्णय गरेको थियो ।
सो निर्णय सुने लगत्तै शहिद लखन गाउँपालिका १ बक्राङ क्षेत्रका स्थानीयले सो क्षेत्रमा शव ल्याउन नदिने भन्दै विरोध गरिरहेका छन् । यता स्थानीयको अवरोध हटाउन जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षाकर्मी परिचालन गरेको एसपी सुरेन्द्र गुरुङले बताएका छन् ।
‘करिब ४०, ५० जना स्थानीयले अवरोध गरिरहनु भएको छ भन्ने रिपोर्टिङ भएको छ’ एसपी गुरुङले भने ‘हामीले प्रहरी परिचालन गरिसकेका छौ, शव गाड्नको लागि खाल्डो खन्न जेसिवी पनि पठाएका छौ’
एसपी गुरुङका अनुसार स्थानीयलाई सम्झाई बुझाई गर्ने काम भइरहेको र समस्या हल हुने बित्तिकै शवलाई त्यस तर्फ लगेर अन्त्यष्टी गरिनेछ ।
‘हामी उहाँहरुसंग छलफल गर्दैछौ, ठूलो समस्या होइन, हामीले गोरखा नगरपालिकाका मेयर शहिद लखनका अध्यक्ष ज्यूसंग छलफल गरेरै निर्णय गरेका हौ’ एसपी गुरुङले भने ‘हामीले गाड्ने भनेका ठाउँ बस्तीबाट ७ सय मिटर टाढा छ ।’
मृतक गत मंगलबार कतारबाट आएर क्वारेनटाइनमा बसेका थिए । काेराेना संक्रमण देखिएपछि शुक्रबार राती १० बजे गाेरखा अस्पताल ल्याइएका उनकाे शनिबार बिहान निधन भएकाे जिल्ला अस्पतालले जनाएकाे छ ।
तस्विर : राजेन्द्र न्याैपाने