गोरखा । धार्चे गाउँपालिका वडा नं. ७ लापुबेंसी रहेको प्रभात किरण मा.विमा विद्यालय भवन र सुविधा सम्पन्न छात्राबास भवन बन्ने भएको छ ।
भूकम्पपछि तत्कालिन बेलायती राजकुमार ह्यारीले अस्थायी संरचना निर्माण गरी पठनपाठन सुरु गराएको उक्त विद्यालयमा स्थायी संरचना बन्न सकेको थिएन ।
‘ह्यारी बनाएको स्कूल उनले पुर्ननिर्माण गरिदिन्छन् भनेर सुरुमा कुनै पनि संस्थाले हाम्रो भवन पुर्ननिर्माण गरिदिएन,’ प्रधानाध्यापक जीवबहादुर गुरुङले भने,‘बल्ल अब चाँही भवन बन्ने भएको छ । संघिय सरकार र प्रदेश सरकारको लगानीमा छात्राबास भवन, सामाजिक विकास कार्यालय गोरखाको लगानीमा प्रशासनिक भवन र चाइल्ड फण्ड जापानको लगानीमा एकिकरण नेपालले विद्यालय भवन निर्माण गर्न लागेको उनले बताए ।
अहिले छात्राबास भवन र प्रशासनिक भवन बनिरहेको छ भने विद्यालय भवन बन्ने प्रकृयामा छ । २०७५/०७६ सालदेखि निर्माण थालिएको छात्राबास भवनले पनि अहिले गति लिएको छ । ‘प्रदेश सरकारको १ करोड २५ लाखबाट १ तल्लाको भवन बनेको छ,’ उनले भने,‘५० लाख लागतमा वाल लगाउने र भ्याल ढोका हाल्ने काम भएको छ ।’ आर्थिक वर्ष २०८०/०८१ मा परेको ३ करोड ५४ लाख बजेटबाट अहिले २ तल्ला थपिएको छ ।
शौचालय निर्माण, भवनमा रङ लगाउने, डाइनिङ हल बनाउने र बाँकी सजावटको काम भइरहेको उनले बताए । २०० जना विद्यार्थी क्षमताको होस्टेलको ७५ प्रतिशत काम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
अहिले चुमनुमब्री गाउँपालिका, धार्चे ३ को लाक्पाल, उहिया, दुङ्ला लगायतको स्थानका विद्यार्थी होस्टेलमा बस्दै आएका छन् । ‘यस अघिको छात्राबास भवन गत वर्षको पहिरोले लग्यो,’ उनले भने, ‘अहिले विद्यालय भवनमै राखेका छौ, यस कारण विद्यालयको पठनपाठनमा समेत समस्या भएको छ ।’ हाल ७१ जना विद्यार्थी छात्राबास भवनमा बस्दै आएका छन ।
छात्राबास बस्ने विद्यार्थीहरुलाई प्रदेश सरकारले खान बस्ने व्यवस्थापन गर्दै आइरहेको उनले बताए । सामाजिक विकास कार्यालय गोरखाको ५० लाख लगानीमा दुई तल्लाको प्रशासनीक भवन निर्माण भएको उनले बताए । एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्टू मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा पनि विद्यालय भवन निर्माण हुने भएको छ ।
बिहीबार गाउँपालिकामा उक्त परियोजनाको बारेमा कार्यालय समेत भएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । एकिकरणले अब एक वर्षमा ८ कोठाको भवन र ८ वटा खानेपानीको धारा लगायत भौतिक पुर्वाधार विद्यालय गर्नेछ ।
गाउँपालिकाको अनुरोध र शिक्षाविकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको सिफारिस एवं विद्यालय भवन आवश्यकता देखिएकाले भवननिर्माण गर्न लागिएको उनले बताए । चाइल्ड फण्ड जापानको इन्जिनियर दुर्गा ढकालले एक वर्ष भित्र करिव ३ करोड ५६ लाख ३६ हजार १ सय ७ रुपैया खर्चमा विद्यालय भवन निर्माण हुने जानकारी दिए ।
बिहिबार नै गाउँपालिकासँग सम्झौता भएको छ । उक्त विद्यालय पुर्ननिर्माण र छात्राबास भवन निर्माणमा ढिलाई हुँदा पठनपाठनमा समस्या भएको शिक्षक, विद्यार्थी र अभिभावकको गुनासो छ । ह्यारीले भूकम्पको बेला अस्थायी संरचना बनाउन सहयोग गरेपनि त्यसपछि कुनै खालको सहयोग प्राप्त नभएको उनीहरुले बताएका छन् ।