सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली मल्टि कल्चरल सेन्टर बनाउने अभियानको थालनी भएको छ । नेपाली भाषीहरुको एकता, उनिहरुको आस्थाको सम्मान र नेपाली संस्कृतीको संरक्षणका लागि सिड्नीमा ’बहुआयामिक, बहुसाँस्कृतिक’ भवन निर्माणमा त्याँहा कार्यरत नेपालीहरु जुटेका हुन् । जसका लागि अप्रिल ९ मा सिड्नीमा भएको नेपाली समुदायको भेलाले बिष्णु हमाल नेतृत्वको समितिलाई पूर्णता दिइएकोछ ।
नेपाली समुदायकै स्वामित्वमा रहने गरी बहु उदेश्यीय, बहुआयामिक र बहुसाँस्कृतिक भवन बनाउने अभियान अघि बढाउन हमाल नेतृत्वमा एक समिति गठन गरिएको हो ।
अष्ट्रेलियन सरकारले हालसालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार अष्ट्रेलियामा नेपालीहरुको संख्या करिव २ लाखको हाराहारीमा पुगेको छ । त्यस संख्याको आधा अर्थात् एक लाखको संख्यामा सिड्नी र यसको आसपासमा बसोबास गर्छन् ।
नेपालको माटो, नेपाली सुगन्ध र नेपाली धर्म ,सस्कृति र मौलिकताको जगेर्ना गर्दै यसको महत्व र ईतिहासको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यले ुग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टरु निर्माण प्रकृया अगाडि बढाईएको बताइएको छ ।
यस बारे छलफल गर्न आयोजना गरिएको भेलाले हमालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति र सल्लाहकार परिषद चयन गरेको बताइएको छ ।
जसको उपाध्यक्षहरुमा उमेश पन्त र सुर्य खनाल, महासचिवमा डा प्रकाश पौडेल र सचिवमा मीना शर्मालाई चयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा प्रकाश बस्ताकोटी, प्रवक्तामा शिव बन्जरा ,पब्लिक रिलेसन अफिसरमा महेन्द्र लम्साल र सह कोषाध्यक्षमा सुनिता पाठक सर्वसम्मत चयन भएका छन् ।
हमाल नेतृत्वको यो समितिलाई दुई बर्षको कार्यकालमा ‘ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर’ लाई पूर्णता दिने अभिभारा छ ।
यो अभियानले सार्थकता पाउदै गर्दा सिड्नी र यसको आसपासमा रहेका नेपालीहरुबीच एक आपसमा भेटघाट सहित भातृत्व कायम गर्ने र विभिन्न नेपाली चाडपर्वहरु मनाउन र हिन्दु, बौद्ध लगायत धार्मिक बिधी र पद्दति अनुसार बिहे, ब्रतबन्ध, पुजापाठ लगायतका कार्यक्रमहरु गर्नका लागि उपयुक्त थलोको रुपमा यसलाई स्थापित गराउने छ ।