काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो ।
अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन बाँकी बालबालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययोजना छ ।
स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले जेठ १५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेश गर्नुपर्ने छ ।
यसैगरी निजी लगानीका विद्यालय (संस्थागत विद्यालय)लाई छात्रवृत्तिको कोटा कार्यान्वयनसहित विद्यार्थी भर्ना गर्न भनिएको छ ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले सोको कार्यान्वयनका लागि सरकारले हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान सन्चालन गर्दै आएको छ । सरकारसँग २०८५ वैशाख भित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार छ ।
हेर्नुहोस् विद्यालय भर्ना अभियानको कार्ययोजना–
