• शनिबार, साउन ९ २०८३

गोरखामा पूर्वाधार विकास कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्न


बुधबार, चैत्र २८ २०८०
2.2K
Shares

गोरखा । गोरखामा पुर्वाधार विकास कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा पूर्वाधार विकास कार्यालयले जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको योजना, कार्यक्रम तथा सेवा प्रवाहका बारे सोमबार शहिद लखन गाउँपालिका ७ को चौकीडाँडाँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नागरिक समाज सञ्चार नेटवर्क प्रालिको सहजीकरणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमकै अवसरमा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को कार्यप्रगती विवरण समेत सार्वजनिक गरेको थियो । सार्वजनिक भएको कार्यप्रगती विवरण अनुसार कार्यालयले अघिल्लो बर्ष ६२ प्रतिशत मात्र भौतिक प्रगति हासिल गरेको देखिएको छ ।

कार्यालयका प्रमुख गणेश सुवेदीका अनुसार जिल्लाभरका योननाहरुमा कार्यालयले ६२ प्रतिशत भौतिक र ६१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको थियो ।

एक अर्ब ५० करोड १३ लाख १२ हजार बजेट बिनियोजन भएकोमा ९१ करोड ३३ लाख ९८ हजार रुपैयाँ खर्च भएको सुवेदीको प्रतिवेदनमा उल्लेख छ । जसमा चालु तर्फ ७० प्रतिशत वित्तीय प्रगति, प्रदेश तर्फको पुँजीगत ६३ प्रतिशत र संघतर्फको मा समेत ६३ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।

पुँजीगतको प्रदेश तर्फको ६० र संघ सर्शत तर्फको ६१ प्रतिशत वित्तीय प्रगति रहेको कार्यालय प्रमुख सुवेदीको प्रस्तुतीकरणमा उल्लेख छ ।

त्यस्तै कार्यक्रममा नागरिक समाज सञ्चार नेटर्वकले कार्यालयबाट सेवा पाएका सेवाग्राहीबाट संकलन गरेको नागरिक प्रतिवेदन तथा बहिर्गमन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस्तै नागरिकका गुनासा, पिरमर्का, समस्या, सुझाव लगायत अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई सञ्चार नेट्वर्कका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले सार्वजनिक गरेका हुन् ।

सो प्रतिवेदनमा कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाहरुको स्तर मध्यम खाले देखिएको बताइएको छ । अध्ययनका क्रममा करिब ६० जना नागरिक तथा सेवाग्रहीसंग गरिएको नमुना सर्वेक्षणमा नागिरकले कार्यालयप्रति विभिन्न गुनासा समेत राखेका थिए । जसमा कार्यालय मार्फत कार्यान्वयन हुने योजनाहरु हचुवाको भरमा र पहुँचको आधारमा मात्रै छनोट हुने गरेको अधिकांशको गुनािसो छ ।

त्यस्तै बनेका संरचनाको दिर्घकालिन संरक्षणका लागि कार्यालयले कुनैपनि कार्य नगरेको गुनासो नागरिकले गरेका छन् । पूर्वाधार विकास कार्यालयले यातायात सम्बन्धी कार्य समेत गर्ने हुँदा गोरखाबाटै लाइसेन्सका काम, ब्लूबुक नामसारी लगायतका सेवा समेत प्रदान हुनुपर्ने नागरिकको माग छ ।

समग्रमा कार्यालयको सेवाको स्तर मध्यम खाले देखिएकाले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै हरेक योजना तथा कार्यक्रमलाई पारदर्शी बनाउनुपर्नेमा उनिहरुको जोड छ ।

त्यस्तै कार्यक्रममा १५ जना भन्दा बढीले प्रश्न तथा गुनासो राखेका थिए । उनिहरुले समुदायमा सञ्चालन भएका योजनाहरुको गुणस्तरमाथी प्रश्नचिन्ह उठाएका थिए । योजना कार्यान्वयन हुँदा ठेकेदारले लापरवाही गर्ने गरेको, अलपत्र बनाउने गरेको, ढिलास्स्ती हुने गरेको, सामाग्रीहरु न्यून गुणस्तरको प्रयोग गर्ने गरेको, योजनाहरु आवस्यकताभन्दा पहुँचका भरमा छनोट हुने गरेको, योजनाहरु गुणस्तरिय, पारदर्शी र जनउत्तरदायी हुनेभन्दा नाफामा केन्द्रित हुने गरेको अधिकांश वक्ताको गुनासो थियो ।

साथै कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यालयको सेवा प्रवाहका बिषयमा विभिन्न प्रश्न समेत गरेका थिए । प्रश्न तथा गुनासाहरुको सम्बोधन पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सुवेदीले दिएका थिए । उनले विकास निर्माण र कार्यालयको सेवा प्रवाहमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने र आगामी दिनमा गुणस्तरीय सेवा दिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ, ८ का वडाध्यक्ष बासुदेव ढकाल लगायतले समेत बोलेका थिए ।

त्यस्तै कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नुको उदेश्यमाथी नागरिक समाज सञ्चार नेटवर्कका सदस्य मेलिना बरामले प्रकाश पारेकी थिइन् ।

नागरिक समाज सञ्चार नेटवर्कका प्रवन्ध निर्देशक मोहसिन अलि मियाँको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा करिब दुई सय नागरिक तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार