गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखामा रहेको आप्रवासी स्रोत केन्द्रबाट ९ हजार जना बढीले सेवा लिएका छन् । चालु आर्थिक बर्षको साउन १ गतेदेखि चैत ११ गतेसम्ममा केन्द्रबाट ९ हजार ६४ जनाले सेवा लिएका हुन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आज सोमबार सदरमुकाममा आयोजना गरेको पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका सामी कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रका अनुसार गोरखा जिल्लाबाट हरेक बर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा सेवा लिनेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको हो ।
कार्यक्रममा सार्वजनिक गरिएको तथयांक अनुसार केन्द्रबाट सबैभन्दा बढी गोरखा नगरपालिकाका नागरिकले सेवा लिएका छन् भने सेवा लिनेमा सबैभन्दा कम चुमनुब्री गाउँपालिकाका नागरिक रहेका छन् । जसमा गोरखा नगरपालिकाका १ हजार ६ सय ९५ जनाले आप्रवासी स्रोत केन्द्रबाट सुरक्षित वैदेशिक रोजगारीका बारे सूचना तथा जानकारी लिँदा चुमनुब्रीका ५७ जना मात्रै छन् ।
त्यस्तै पालुङटार नगरपालिकाका १ हजार ४ सय २४ जना, शहिद लखन गाउँपालिकाका १ हजार ९४ जना, सिरानचोक गाउँपालिकाका ८ सय ९९ र बारपाक सुलिकोटका ८ सय ४५ जनाले सेवा लिएका छन् । त्यस्तै भिमसेन थापा गाउँपालिकाका ७४९, गण्डकीका ६७६, आरुघाटका ६४०, अजिरकोटका ५४० र धार्चेका ४५५ जनाले केन्द्रबाट सेवा लिएको कार्यक्रम अधिकृत मिश्रले बताए ।
जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानी बनाउन पुगेका नागरिकको आवस्यकताको पहिचान गरि विदेश जानुपूर्व गर्नुपर्ने काम, आवस्यक तालिम, कागजी प्रकृया, जान्नु पर्ने कानून, लाग्ने शुल्क लगायत रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन केन्द्रबाट निशुल्क रुपमा सूचना, परामर्श सेवा प्रदान हुने गरेको उनको भनाई छ ।
त्यस्तै केन्द्रमा साउनयता वैदेशिक रोजगारी सम्बन्धी ५४ वटा केश दर्ता भएका छन् । जसमा ठगीका ५, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको २, विदेशमा रहँदा जेलमा रहेका १, अलपत्र परेका श्रमिकको उद्दार ४, परिवार उपचार खर्च २९, वेपत्ता सम्बन्धि ८ र अन्य ८ गरी ५४ वटा केश दर्ता भएकोमा २४ वटा समस्या समाधान भएको र बाकी केश समाधानको प्रकृयामा रहेको सामी कार्यक्रमका गोरखा जिल्ला संयोजक चन्द्रबहादुर देवकोटाले बताए ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास (स्वीस इन्टर कोअपरेशनस) को प्राविधिक सहयोगमा गोरखाका चार स्थानीय तहबाट कार्यान्वयन हुने सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम मार्फत केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको देवकोटाले बताए । गोरखामा सामी कार्यक्रमको सहजीकरण एकिकरण नेपालले गरिरहेको छ ।
कार्यक्रम मार्फत वैदेशिक रोजगारी सम्बन्धी नागरिकको सूचनाको पहुँच, न्यायमा पहुँच, कानूनी सहजिकरण, सीप विकास तालिम, मनोपरामर्श, वित्तिय साक्षरता लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी जानूपूर्वको परामर्श, सूचना प्रदान गर्नुका साथै रोजगारीका लागि विदेश जान चाहनेलाई निशुल्क रुपमा बिभिन्न किसिमका तालिमका लागि सिफिरिस, कानूनी प्रकृयामा सहजीकरण, वैदेशिक रोजगारीका क्रममा अलपत्र परेकालाई समस्यामुक्त बनाउन पहल, विदेशमा मृत्यु भएका श्रमिकको शव स्वदेश ल्याउन पहल, विमा रकम, आर्थिक सहायता रकम लगायतका बिभिन्न सहयोग उपलब्ध गराउन पहल तथा समन्वयको काम गर्दै आएको छ ।
त्यस्तै बैदेशिक रोजगार बोर्ड मार्फत उलब्ध हुने विदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता, बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति लगायत उपलब्ध गराउनका लागि समेत केन्द्रले पहल र समन्वय गर्दै आएको कार्यक्रम संयोजक देवकोटाले बताए ।
गोरखामा करिब ४ बर्षअघिदेखि गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाकामा गरी ४ स्थानीय तहमा यो कार्यक्रम लागू भएको बताइएको छ । ति पालिकाहरुमा भने वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई वित्तिय साक्षरताका कक्षा, रकम वचत, लगानी, मनोपरामर्श लगायतका कार्यक्रम समेत सञ्चालन भइरहेको एकिकरण नेपालले जनाएको छ ।
केन्द्रबाट अघिल्लो आर्थिक बर्ष २०७९/८० मा १२ हजार ९ सय १७ जना लाभाञ्वित भएका थिए । त्यस्तै आर्थिक बर्ष २०७८/७९ मा ७ हजार ९ सय ८६ जना र आर्थिक बर्ष २०७७/७८ मा केन्द्रबाट एक हजार ९ सय ९८ जनाले सेवा लिएका थिए । गत बर्षहरुको तथ्यांक केलाउँदा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिनेको संख्या हरेक बर्ष बढ्दै गएको देखिन्छ ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।