काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन् ।
सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दी गृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन् । सबै गन्तव्य मुलुकबाट तथ्याङ्क सङ्कलन उद्धार तथा समस्या समाधानको योजना बनाइने बताए ।
विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनले बताए । बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए ।