तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले हिजाे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो ।
विशेष कारण देखाउँदै कार्यालयले दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको हो ।
सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको भन्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेपछि लाइसेन्स सम्बन्धि सम्पूर्ण प्रकृया बन्द भएको हो । अख्तियारले यस विषयमा छानबिन गरिरहेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । बिमलनगरमा रहेको यातायात कार्यालय पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
२०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो ।